राजबिराजमा एकातिर सद्भाव र्‍याली, अर्कोतिर गोलीकाण्डका मृतकको सम्झनामा शोक र्‍याली

राजबिराजमा एकातिर सद्भाव र्‍याली, अर्कोतिर गोलीकाण्डका मृतकको सम्झनामा शोक र्‍याली
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १७, आईतवार १७:२४
राजबिराजमा एकातिर सद्भाव र्‍याली, अर्कोतिर गोलीकाण्डका मृतकको सम्झनामा शोक र्‍याली

चन्दन रजक , राजबिराज :सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएको गोलीकाण्डपछि सप्तरी सदरमुकाम राजबिराजमा आइतबार फरक उद्देश्यका दुई र्‍याली आयोजना गरिएका छन्। एकातिर सामाजिक सद्भाव, शान्ति र सहिष्णुताको सन्देश प्रवाह गर्ने ‘सद्भाव र्‍याली’ निकालियो भने अर्कोतर्फ घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा ‘शोक र्‍याली’ प्रदर्शन गरिएको हो।

हिन्दु सनातनी समाज सप्तरीको आयोजनामा स्थानीय राम मन्दिरबाट मृतकहरूको तस्वीर अंकित ब्यानरसहित शोक र्‍याली निकालिएको थियो। र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दै घटनाका दोषीमाथि कारबाही र मृतकलाई न्यायको मागसहित विभिन्न नाराबाजी गरेको थियो।

ADVERTISEMENT

र्‍यालीमा सनातन संस्कृति नेपाल सप्तरी, हिन्दु सम्राट सेना नेपाल सप्तरी, राष्ट्रिय बजरंगदल सप्तरी, इस्कोन राजबिराज, श्रीकृष्ण भक्त मण्डल, हिन्दु समाज सप्तरीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा, विद्यार्थी, व्यापारी, किसान, मजदुर तथा यातायात व्यवसायीको उल्लेखनीय सहभागिता रहेको हिन्दु सम्राट सेना नेपाल सप्तरीका संयोजक सुरेन्द्र दासले जानकारी दिए।

शोक र्‍यालीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको कडा सुरक्षा व्यवस्थाबीच सञ्चालन गरिएको थियो।

यता, शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले स्थानीय शिव मन्दिर परिसरबाट ‘सद्भाव र्‍याली’ आयोजना गरेको थियो। र्‍यालीले नगरका विभिन्न सडक परिक्रमा गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावका क्रममा भएको हिंसात्मक घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। त्यस्तै, सिरहाको गोलबजारमा भएको घटनामा गणेश यादवको ज्यान गएको थियो। दुवै घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् भने सार्वजनिक तथा निजी सम्पत्तिमा समेत क्षति पुगेको छ।

घटनापछि सप्तरीसहित मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले राजबिराज नगरपालिका र बोदेबर्साइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ। साथै, पूर्व–पश्चिम राजमार्ग प्रभावित हुँदा इन्धन तथा खाना पकाउने ग्यासको अभावले सर्वसाधारणले सास्ती खेपिरहेका छन्।

एकै दिन राजबिराजमा निकालिएका सद्भाव र शोक र्‍यालीले जिल्लाको वर्तमान सामाजिक अवस्था, सुरक्षा चुनौती र सामुदायिक सम्बन्धबारे व्यापक बहस तथा चासो बढाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १७:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !