राजविराज र बोदेबर्साइनका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी

राजविराज र बोदेबर्साइनका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १७, आईतवार १८:४४
राजविराज र बोदेबर्साइनका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी

राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा आइतबार जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम निषेधाज्ञा लागू गरिएको हो।

ADVERTISEMENT

सूचनामा निषेधाज्ञा अवधिभर तोकिएका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारको भेला गर्न नपाइने उल्लेख गरिएको छ। प्रशासनले सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

राजविराज नगरपालिकाभित्र निषेधाज्ञा लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाडो खोलासम्म, पश्चिमी सीमा हुलाकी राजमार्गको जमुनी थलेहीसम्म, उत्तरी सीमा रुपनी रोडको बसबिटी चोकसम्म तथा दक्षिणी सीमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका) सम्म तोकिएको छ।

यस्तै, बोदेबर्साइन नगरपालिकामा पूर्वतर्फ त्रितनपुर चोक, पश्चिमतर्फ खडक पुल, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराज चोक सम्मको क्षेत्रलाई निषेधाज्ञा लागू हुने क्षेत्र निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नका लागि उक्त निर्णय गरिएको जनाएको छ। प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १८:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !