सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गोलबजारको कर्फ्यु हटाइयो

सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गोलबजारको कर्फ्यु हटाइयो
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ श्रावण १७, आईतवार १८:३२
सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गोलबजारको कर्फ्यु हटाइयो

सिरहा : सिरहाको गोलबजार नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्लाको सुरक्षा अवस्थाको समीक्षा गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार सूचना जारी गर्दै कर्फ्यु हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गोलबजार नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज राति ७:०० बजेदेखि हटाइएको हो।

ADVERTISEMENT

यसअघि सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो। त्यसपछि क्षेत्रको सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका कारण आवतजावत, व्यापार–व्यवसाय तथा दैनिक जनजीवन प्रभावित बनेको थियो।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा जनजीवनलाई सहज बनाउने उद्देश्यले कर्फ्यु हटाउने निर्णय गरिएको जनाएको छ।

कर्फ्यु हटाइएपछि गोलबजार क्षेत्रमा सर्वसाधारणको आवतजावत, बजार सञ्चालन तथा अन्य दैनिक गतिविधि पुनः सामान्य हुने अपेक्षा गरिएको छ। यद्यपि प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थाको निरन्तर अनुगमन गरिने र आवश्यकता अनुसार थप निर्णय गरिने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १८:३२
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !