सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह, धर्मनिरपेक्षताको पक्षमा उभिन अपिल

सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह, धर्मनिरपेक्षताको पक्षमा उभिन अपिल
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १७, आईतवार १७:३७
सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह, धर्मनिरपेक्षताको पक्षमा उभिन अपिल

काठमाडौं : श्रम संस्कृति पार्टीले पछिल्लो समय तराई क्षेत्रमा देखिएको धार्मिक द्वन्द्व र त्यसबाट उत्पन्न असहज अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई धर्मनिरपेक्षताको मर्मअनुसार अघि बढ्न आग्रह गरेको छ।

पार्टीका प्रवक्ता सत्य गुरुङद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनकपुरमा सरकारले आन्दोलनरत पक्षसँग गरेको वार्ताको स्वागत गर्दै वार्ताबाट आएको सहमतिबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ। विज्ञप्तिमा वार्ताबाट नेपाललाई एउटै धर्मको राष्ट्र बनाउने विषयमा सहमति भएको भन्ने चर्चा सार्वजनिक भइरहेकाले सरकारले तत्काल वास्तविकता स्पष्ट पार्नुपर्ने उल्लेख गरिएको छ।

ADVERTISEMENT

पार्टीले संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्ष व्यवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिँदै सबै नेपाली समान रहेको र सबै धर्मावलम्बीले समान सम्मान तथा अधिकार पाउने वातावरण कायम रहनुपर्ने जनाएको छ।

विज्ञप्तिमा राज्यले कुनै धर्मलाई काखा वा पाखा गर्ने व्यवहार गर्न नहुने उल्लेख गर्दै राज्यको आफ्नै धर्म नहुने तर प्रत्येक नागरिकको धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था संविधानले गरेको स्मरण गराइएको छ।

श्रम संस्कृति पार्टीले “बहुजाति, भाषा, धर्म, संस्कृति छन् विशाल” भन्ने राष्ट्रिय गानको भावनाअनुसार विविधताबीच एकता, आत्मसम्मान र सामाजिक सद्भाव कायम राख्नु आजको आवश्यकता भएको जनाएको छ।

साथै, केही व्यक्तिको आन्दोलनका आधारमा सम्पूर्ण जनभावनाको निष्कर्ष निकाल्न नहुने भन्दै सरकारलाई मानवता, न्याय र संविधानको मर्मका आधारमा निर्णय गर्न तथा सबै पक्षप्रति अहस्तक्षेपको नीति अपनाएर देशमा शान्ति र सद्भाव कायम गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १७:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !