भंगहाका बाढीपीडित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण

भंगहाका बाढीपीडित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ असार १, सोमबार ०६:४७
भंगहाका बाढीपीडित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण

जलेश्वर : महोत्तरीको भंगहा नगरपालिकामा बाढीका कारण घरवारविहीन बनेका ७३ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ।

गत असोज १९ र २० गते रातो खोलामा आएको बाढीबाट प्रभावित दलित, गरिब तथा अतिविपन्न परिवारका लागि निर्माण गरिएका घरहरू सोमबार सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

ADVERTISEMENT

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालको सहकार्यमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत बाढीपीडित परिवारलाई निर्माण सामग्री उपलब्ध गराई घर निर्माण गरिएको हो।

भंगहा–४ स्थित थारुटोलमा आयोजित कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले नगरप्रमुख सञ्जीवकुमार साहलाई संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

परियोजनाअन्तर्गत भंगहा–१ मा एक, वडा नं. २ मा तीन, वडा नं. ३ मा आठ, वडा नं. ४ मा १२, वडा नं. ५ मा आठ, वडा नं. ६ मा १२, वडा नं. ७ मा आठ, वडा नं. ८ मा पाँच र वडा नं. ९ मा १६ गरी कुल ७३ वटा घर निर्माण गरिएको छ।

एक करोड एक लाख ७१ हजार ५७४ रुपैयाँको लागतमा निर्माण गरिएका ती घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएको परियोजनाले जनाएको छ।

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले बाढीपीडित दलित, गरिब र अतिविपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार, बालविवाहमुक्त अभियान तथा आयआर्जनलगायत क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि नगरको समग्र विकासमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

प्रकाशित मिति: २०८३ असार १, सोमबार ०६:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !