आज पनि महाअष्टमी, दुवै दिन महाअष्टमीको पूजा गरिने

आज पनि महाअष्टमी, दुवै दिन महाअष्टमीको पूजा गरिने
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार ०८:५९
आज पनि महाअष्टमी, दुवै दिन महाअष्टमीको पूजा गरिने

काठमाडौं : नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भएकाले दुई दिन महाअष्टमी परेको र दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ।

समितिले स्वीकृत गरेको पात्रो अनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोऱ्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

ADVERTISEMENT

कात्तिक २ गते नवरात्रको नवौँ दिन परे तापनि कर्म भने आठौँ दिनकै गर्नुपर्छ। उक्त दिन दशैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्नेछ। यस्तै अन्य कर्म पनि महाअष्टमीका दिन गरिएका पूजापाठलाई दोहोऱ्याउनुपर्ने उनले बताए।

तथापि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पात्रोमा उल्लेख छ। यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र पनि दशरात्र हुन पुगेको छ। जसले गर्दा विजयादशमीको दिन टीका लगाउँदा १० रात्रिको जमरा प्रयोग गरिनेछ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना एवं पूजा-आराधना गर्ने समय एक दिन बढ्दा कुनै असर पर्दैन।

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने पञ्चाङ्ग निर्णायक समितिको परामर्श र तलेजु भवानीका पुजारीहरूको परम्परा अनुसार कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेलगत्तै अर्को दिन महानवमीको पूजापाठ गर्ने परम्परा रहेकाले सोही अनुसार निर्णय गरिएको उनले बताइन्।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिसकिएको छ भने मूल पूजा सोमबार गरिने अड्डाले जनाएको छ। महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित विशेष पूजा आराधना गर्ने परम्परा रहँदै आएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार ०८:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !