मासु खानुहोस्, दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्

मासु खानुहोस्, दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १२:२२
मासु खानुहोस्, दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्

काठमाडौं : दसैँ नेपालीहरूको प्रमुख चाड हो। यो पर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र रमाइलो गर्ने चलन छ। दसैँमा विशेषगरी मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन बढ्ने गर्छ। तर खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिने प्रवृत्तिले मुटुरोगको जोखिम बढाउन सक्छ।

चाडपर्वका बेला आवश्यकताभन्दा बढी खाने, शारीरिक गतिविधि कम गर्ने र नियमित औषधि सेवनमा लापरबाही गर्ने बानीले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल वृद्धि तथा मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसैले दसैँमा खानपानको सन्तुलन र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ।

ADVERTISEMENT

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालका अनुसार मुटुको स्वास्थ्य जोगाउन सन्तुलित खानपान, नियमित व्यायाम, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणका साथै धूमपान तथा मदिराबाट टाढा रहनुपर्छ।

राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता प्रगति ढकालसँगको कुराकानीमा डा. लम्सालले दसैँमा मासु खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्ने बताएका छन्। प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

प्रश्न : दसैँमा मासु र अन्य परिकार बढी खाने चलन छ। मुटुको स्वास्थ्य जोगाउन खानपान कसरी व्यवस्थित गर्ने?

डा. लम्साल : हाम्रो स्वास्थ्यसँग दैनिक जीवनशैली, शारीरिक गतिविधि, सोचाइ र खानपानको प्रत्यक्ष सम्बन्ध हुन्छ। मुटुको स्वास्थ्यका लागि यी सबै पक्ष महत्त्वपूर्ण छन्।

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थ सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप वृद्धि हुने, मधुमेह र कोलेस्ट्रोलको समस्या देखिने जोखिम बढाउँछ। शारीरिक गतिविधि पनि कम भयो भने मुटुरोगको जोखिम थप बढ्न सक्छ।

त्यसैले चाडपर्वमा पनि सन्तुलित खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्छ। दसैँको नाममा शरीरले धान्न नसक्ने गरी वा आवश्यकताभन्दा बढी खानु हुँदैन। अन्य समयजस्तै सन्तुलित र आवश्यकताअनुसारको खाना खानुपर्छ।

प्रश्न : दसैँमा चिल्लो पदार्थ बढी भएका तथा एउटै तेल पटकपटक प्रयोग गरेर तारेका परिकार खाने चलन छ। यसले मुटुमा कस्तो असर गर्छ?

डा. लम्साल : एक–दुई दिन तारेका वा भुटेका चिल्ला परिकार खाँदैमा तत्कालै ठूलो जोखिम हुन्छ भन्ने होइन। तर नियमित रूपमा यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पर्न सक्छ।

एउटै तेल पटकपटक प्रयोग गरेर खाना तार्दा त्यसको गुणस्तर बिग्रन सक्छ र स्वास्थ्यलाई हानि पुर्‍याउने पदार्थ बन्न सक्छन्। त्यसैले यस्ता परिकार कम खानु राम्रो हुन्छ।

विशेषगरी मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्तिले यस्ता खानेकुरामा बढी सावधानी अपनाउनुपर्छ। सकेसम्म कम चिल्लो भएका, उमालेर वा अन्य स्वस्थ तरिकाले पकाइएका परिकार खानु उपयुक्त हुन्छ।

प्रश्न : दसैँमा मासुको खपत बढी हुन्छ। मुटुको स्वास्थ्यका दृष्टिले कुन मासु खानु उपयुक्त हुन्छ?

डा. लम्साल : मासु आफैँमा नराम्रो वा अखाद्य पदार्थ होइन। तर यसको मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ। सबैभन्दा पहिले मासु तयार पार्ने वा किन्ने ठाउँ सफा हुनु आवश्यक छ। मासु स्वच्छ नभए खाद्य विषाक्तता, झाडापखालालगायतका समस्या हुन सक्छन्।

त्यसपछि मासुको प्रकारमा ध्यान दिनुपर्छ। रातो मासुको अत्यधिक सेवनले कोलेस्ट्रोल तथा युरिक एसिड बढ्ने र अन्य स्वास्थ्य जोखिम निम्तिने सम्भावना हुन्छ। धेरै तेलमा तारिएको वा अत्यधिक पोलेको मासु खाँदा पनि सावधानी अपनाउनुपर्छ।

मासुको विकल्पमध्ये माछा राम्रो मानिन्छ। त्यसपछि कुखुराको मासु रोज्न सकिन्छ। तर माछा खाँदा पनि धेरै तेलमा तारेर खानु हुँदैन। मासुको मात्रा सीमित राख्ने र स्वस्थ तरिकाले पकाउने बानी बसाल्नुपर्छ।

त्यसैले म भन्छु— मासु खानुहोस्, दसैँ मनाउनुहोस्, तर मुटु भने जोगाउनुहोस्।

प्रश्न : उमेरअनुसार खानपानमा कस्तो सावधानी अपनाउनुपर्छ?

डा. लम्साल : उमेरसँगै स्वास्थ्य अवस्था र रोगको जोखिम पनि फरक हुन्छ। ६०–७० वर्ष उमेरका व्यक्तिमा उच्च रक्तचाप, मुटुरोग वा पाचनसम्बन्धी समस्या हुन सक्छ। त्यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा नियन्त्रण गर्नुपर्छ।

बालबालिका तथा किशोरकिशोरी शारीरिक रूपमा बढी सक्रिय हुन्छन् र उनीहरूको पोषण आवश्यकता फरक हुन सक्छ। तर उमेर जुनसुकै भए पनि आवश्यकताभन्दा बढी खाने बानी राम्रो होइन।

दसैँमा मासुसँगै मदिरा, चिसो पेय पदार्थ तथा धूमपानको सेवन पनि बढ्ने गरेको छ। मुटुरोग भएका वा जोखिममा रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधि छुटाउनु हुँदैन।

प्रश्न : हृदयाघातका प्रमुख लक्षण के हुन्? यस्ता लक्षण देखिएमा के गर्नुपर्छ?

डा. लम्साल : हृदयाघातका प्रमुख लक्षणमध्ये छातीको बीच भागमा दुख्ने, भारी हुने वा कुनै वस्तुले थिचेजस्तो महसुस हुनु हो। यसबाहेक धेरै पसिना आउने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता लक्षण पनि देखिन सक्छन्।

सबै व्यक्तिमा एउटै प्रकारका लक्षण नदेखिन सक्छन्। त्यसैले छातीमा असहजता हुने वा हृदयाघातको शंका लाग्ने लक्षण देखिएमा सामान्य ठानेर बस्नु हुँदैन। तत्काल एम्बुलेन्स बोलाएर नजिकको अस्पतालको आकस्मिक कक्षमा पुग्नुपर्छ।

अस्पतालमा इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) र आवश्यक रगत परीक्षण गरी हृदयाघात भए–नभएको जाँच गरिन्छ। त्यसपछि बिरामीको अवस्थाअनुसार उपचार अघि बढाइन्छ।

प्रश्न : मुटुरोगको जोखिम भएका व्यक्तिका परिवारका सदस्यले के कुरामा ध्यान दिनुपर्छ?

डा. लम्साल : पहिले नै मुटुरोग भएका, उच्च रक्तचाप वा मधुमेह भएका, कोलेस्ट्रोल बढी भएका, लामो समयदेखि धूमपान गर्ने तथा मोटोपन भएका व्यक्ति मुटुरोगको जोखिममा हुन्छन्।

परिवारका सदस्यले यस्ता व्यक्तिलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल अस्पताल लैजानुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। उनीहरूले नियमित सेवन गरिरहेका औषधि छुटाउनु हुँदैन।

चाडपर्वका बेला भोजभतेर र रमाइलोमा व्यस्त हुँदा औषधि छुट्ने सम्भावना हुन्छ। त्यसैले परिवारका सदस्यले पनि नियमित औषधि सेवन, सन्तुलित खानपान र स्वास्थ्य जाँचमा ध्यान दिनुपर्छ।

प्रश्न : स्वस्थ व्यक्तिले पनि दसैँमा खानपान नियन्त्रण गर्नुपर्छ कि मुटुरोग भएका व्यक्तिले मात्र सावधानी अपनाए पुग्छ?

डा. लम्साल : स्वस्थ व्यक्तिले पनि खानपानमा ध्यान दिनुपर्छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो।

दसैँ, तिहारलगायतका चाडपर्वमा खाने, रमाइलो गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्परा राम्रो पक्ष हो। तर त्यसलाई आवश्यकताभन्दा बढी बनाउनु हुँदैन।

दसैँ धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको पर्व हो। यस समयमा परिवारका सदस्य भेट्ने, आफन्तसँग समय बिताउने, पूजापाठ गर्ने र नयाँ ठाउँमा घुम्न जाने अवसर पनि मिल्छ। यस्ता गतिविधिले मुटु मात्र नभई समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छन्।

त्यसैले दसैँलाई खानपानमा मात्र केन्द्रित गर्नु हुँदैन। परिवारसँग भेटघाट गर्ने, घुमघाम गर्ने र शारीरिक रूपमा सक्रिय रहने अवसरका रूपमा पनि लिनुपर्छ।

प्रश्न : नियमित हिँडडुल र व्यायामले मुटुको स्वास्थ्यमा कस्तो फाइदा पुर्‍याउँछ?

डा. लम्साल : नियमित व्यायामले मुटुको स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। दिनमा कम्तीमा ३० देखि ४५ मिनेट छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने वा आफूलाई अनुकूल हुने शारीरिक गतिविधि गर्नुपर्छ।

सबैले एकै प्रकारको व्यायाम गर्नुपर्छ भन्ने छैन। कसैले हिँडडुल गर्न सक्छन्, कसैले खेलकुदमा सहभागी हुन सक्छन् भने कसैले खेतीबारीमा काम गर्न सक्छन्। जसरी भए पनि शरीरलाई चलायमान र सक्रिय राख्दा शारीरिक तन्दुरुस्ती कायम राख्न तथा मुटु स्वस्थ राख्न सहयोग पुग्छ।

सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण तथा रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित जाँच आवश्यक छ। चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र धूमपान तथा मदिराबाट टाढा रहने हो भने मुटुरोगको जोखिम घटाउन सकिन्छ।

प्रश्न : पछिल्लो समय कम उमेरमै हृदयाघात हुने गरेको सुनिन्छ। यसका कारण के हुन सक्छन्?

डा. लम्साल : उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ। तर पहिले ५०–६० वर्षको उमेरमा बढी देखिने हृदयाघात अहिले ३०–३५ वर्षका व्यक्तिमा पनि देखिन थालेको छ। कतिपय २०–२५ वर्षका व्यक्तिमा समेत हृदयाघात भएका घटना हाम्रो अभिलेखमा छन्।

यसमा बजारिया खाना अर्थात् जङ्क फुडको अत्यधिक सेवन, शारीरिक गतिविधिमा कमी, धूमपान र बदलिँदो जीवनशैलीले भूमिका खेलेको हुन सक्छ। सहरी जीवनशैलीमा लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्दै बस्ने र शारीरिक श्रम कम गर्ने प्रवृत्ति पनि बढेको छ। बालबालिकामा समेत जङ्क फुडको सेवन बढ्दै गएको छ।

त्यसैले घरपरिवार, स्वास्थ्य संस्था र राज्यका विभिन्न तहबाट स्वस्थ खानपान तथा सक्रिय जीवनशैलीबारे सचेतना बढाउन आवश्यक छ। यस क्षेत्रमा राज्य र सम्बन्धित निकायले लगानी बढाउनुपर्छ। अन्यथा मुटुरोगको समस्या अझै बढ्दै गएमा भविष्यमा गम्भीर चुनौती सिर्जना हुन सक्छ।

प्रश्न : अन्त्यमा, मुटु जोगाउन आम नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ?

डा. लम्साल : स्वास्थ्यका लागि के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ। नियमित व्यायाम गर्नुपर्छ, धेरै खानु हुँदैन, खानपान नियन्त्रण गर्नुपर्छ र धूमपान तथा मदिराबाट टाढा रहनुपर्छ भन्ने बुझाइ छ। अब आफूले बुझेका कुरा व्यवहारमा लागू गर्न आवश्यक छ।

सन्तुलित खानपान गर्ने, शरीरलाई सक्रिय राख्ने, तौल नियन्त्रण गर्ने र रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रणमा राख्ने बानी बसालौँ। दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन गरौँ।

चाडपर्वमा रमाइलो गर्दा पनि स्वास्थ्यलाई बेवास्ता नगरौँ। औषधि र उपचारको आफ्नै भूमिका हुन्छ, तर आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवारी सबैभन्दा पहिले आफ्नै हो।

त्यसैले यस दसैँमा हामी सबैले स्वस्थ जीवनशैली अपनाउने प्रयास गरौँ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो। चाडपर्व मनाउँदा खानपान र त्यसबाट मुटुको स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत बनौँ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १२:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !