सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर

सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १३:०९
सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनविपरीत ठहर गर्दै बदर गरेको छ।

न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति बदर गर्ने फैसला सुनाएको हो।

ADVERTISEMENT

निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारको नियुक्ति निर्णय खारेज गरेको हो।

छनोट प्रक्रियामा योग्यताक्रम अर्थात् ‘मेरिट बेसिस’ मा कार्की पहिलो नम्बरमा रहे पनि सरकारले पहिलो नम्बरमा रहेका उम्मेदवारलाई पन्छाएर पछाडि रहेका श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको अदालतले ठहर गरेको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मापदण्डमा कार्यकारी प्रमुखका लागि ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था रहेको अदालतले उल्लेख गरेको छ। श्रेष्ठले उक्त उमेर सीमा पार गरिसकेको अवस्थामा उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्नु कानुनसम्मत नभएको सर्वोच्चको निष्कर्ष छ।

सर्वोच्चको फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका छन्। अब सरकारले कानुन तथा निर्धारित प्रक्रिया पूरा गरी निगमका लागि नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्नेछ।

सञ्चालक समिति सदस्यको हैसियत भने कायमै

अदालतले श्रेष्ठको कार्यकारी अध्यक्ष पदको नियुक्ति बदर गरे पनि नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यका रूपमा उनको पद भने कायम रहने स्पष्ट पारेको छ।

अर्थात् सर्वोच्चको फैसलाले श्रेष्ठलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाए पनि निगमको सञ्चालक समिति सदस्यका रूपमा रहेको उनको हैसियतमा भने असर नपर्ने भएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १३:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !