जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, भेरी करिडोर अवरुद्ध, २०० भन्दा बढी सुरक्षित स्थानमा सारिए

जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, भेरी करिडोर अवरुद्ध, २०० भन्दा बढी सुरक्षित स्थानमा सारिए
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३१, आईतवार १८:२४
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, भेरी करिडोर अवरुद्ध, २०० भन्दा बढी सुरक्षित स्थानमा सारिए

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। अविरल वर्षापछि शनिबार साँझ आएको पहिरोले घर तथा टहरा भत्काउनुका साथै सडक र बाटोसमेत अवरुद्ध गरेको छ।

पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही ठाउँकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री छन्। यस्तै, पहिरोमा परी घाइते भएका भेरी–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए।

ADVERTISEMENT

पहिरोमा परी घाइतेमध्ये भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर छ। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। त्यस्तै, भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा तथा १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। तीन जना घाइते भने उपचारपछि डिस्चार्ज भएका छन्।

२०० भन्दा बढी सुरक्षित स्थानमा

पहिरोको उच्च जोखिममा रहेका रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५०–२०० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ।

प्रहरीका अनुसार झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

उद्धार तथा सुरक्षाका लागि प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरी परिचालन गरिएको छ। सडक तथा बाटो अवरुद्ध भएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर उद्धार तथा खोजी कार्यमा खटिएको छ।

घर तथा टहरामा क्षति

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने मानिस नरहेको बताइएको छ।

प्रदेश सरकारले पठायो राहत

कर्णाली प्रदेश सरकारले पहिरोपीडितका लागि राहत सामग्री पठाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाइएको प्रदेश सचिव लक्ष्मी विकले जानकारी दिए।

विद्यालयमा आश्रय लिइरहेका पीडितको स्वास्थ्य परीक्षणसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए।

मुख्यमन्त्री मंगलबहादुर शाहीले तत्कालका लागि आवश्यक राहत सामग्री पठाइएको र थप आवश्यकता तथा मागका आधारमा राहत वितरणलाई निरन्तरता दिइने बताएका छन्।

आइतबार मुख्यमन्त्री शाहीसँग राष्ट्रियसभा सदस्य माया प्रसाद शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंहलगायतले रिसाङमा भएको जनधनको क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका थिए। सरकारले प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी थप राहत तथा पुनःस्थापनाको काम अघि बढाउने जनाएको छ।

भेरी करिडोर अझै खुलेन

पहिरोका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएको छ। नलगाड नगरपालिका–१० र ११ को बीचमा पर्ने ताक्सुगाडमा सडक भत्किएपछि यातायात सञ्चालन हुन सकेको छैन।

भेरी करिडोर योजना प्रमुख नरेशकुमार केसरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने अनुमान छ। जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने यो सडकखण्ड अवरुद्ध हुँदा स्थानीयवासीको आवतजावत प्रभावित भएको छ।

अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै छ। स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १८:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !