रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १५:५३
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

जनकपुर : रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५, कोटलबारामा साउन २७ गते साँझ गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार पहिरोमा परी सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। दुवै जनाको स्वास्थ्य चौकी थवाङमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

ADVERTISEMENT

पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।

पहिरोले मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन्। पहिरोमा पुरिएर पशुचौपाया समेत बेपत्ता भएको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले उद्धार टोलीले जोखिमबीच खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १५:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !