कांग्रेस नेतासमेत रहेका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

कांग्रेस नेतासमेत रहेका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २४, आईतवार १४:२३
कांग्रेस नेतासमेत रहेका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

जनकपुर : कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्।

६५ वर्षीय सिंह शुक्रबारदेखि हराइरहेका थिए। उनको शव आइतबार तिलौराकोट सामुदायिक जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका इन्सपेक्टर दिपक कुँवरका अनुसार जंगलको बीचमा सिंहको शव भेटिएपछि इलाका प्रहरी कार्यालय गोरुसिंगे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको टोलीसँगै खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

सिंह शुक्रबार दिउँसो करिब ३ः३० बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट मोटरसाइकल लिएर निस्किएका थिए। साँझ करिब ५ः३० बजे उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिर्सिएर हराएको बताएका थिए।

त्यसपछि आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो। तर, सिंह त्यहाँ थिएनन्।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा सिंह तौलिहवाबाट जंगल क्षेत्रतर्फ एक्लै मोटरसाइकलमा गएको देखिएको छ। शुक्रबार साँझ करिब ५ः३० बजे उनले कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खानलाई समेत फोन गरेका थिए।

वडाध्यक्ष खानले सिंहसँग छोटो संवाद भएको र त्यसबारे आफूले तत्कालै प्रहरीलाई जानकारी गराएको बताएका छन्।

सिंह पछिल्लो समय गोरुसिंगे जंगल क्षेत्रमा पर्ने डकेरीमा कृषि फार्म सञ्चालनको तयारीमा थिए। त्यहाँ माछा तथा कुखुरापालनको काम भइरहेको थियो भने भवन निर्माणसमेत भइरहेको पारिवारिक स्रोतले जनाएको छ। सोही क्षेत्रमा जानका लागि उनी एक्लै घरबाट निस्किएको बताइएको छ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए। हाल उनी नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्यसमिति सदस्य थिए।

उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान तथा शवको परीक्षणपछि मृत्युको कारणबारे थप जानकारी प्राप्त हुने जनाएको छ।

सिंहको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए।

प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार १४:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !