विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर–कार्यालयमा ५ घण्टा प्रहरी खानतलासी, केही पनि फेला परेन

विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर–कार्यालयमा ५ घण्टा प्रहरी खानतलासी, केही पनि फेला परेन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १८, सोमबार १२:१२
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर–कार्यालयमा ५ घण्टा प्रहरी खानतलासी, केही पनि फेला परेन

जनकपुर : विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान करिब पाँच घण्टा लामो खानतलासी गरेको छ। अवैध रूपमा ठूलो परिमाणमा नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली बिहान करिब ५ बजे विराटनगर–७ स्थित मुन्दडाको निवास र कार्यालयमा पुगेको थियो। खानतलासीका क्रममा प्रहरीले मोरङ व्यापार संघको कार्यालयअगाडि रहेको क्षेत्रलाई सुरक्षा घेरामा राख्दै गोल्छा चोकदेखि जिल्ला प्रशासन कार्यालयतर्फको सडकमा सर्वसाधारणको आवतजावतसमेत केही समयका लागि रोकिएको थियो।

ADVERTISEMENT

प्रहरीका करिब १२ वटा सवारीसाधन परिचालन गरी निवास र कार्यालयका सबै कोठा, बैठक, भान्सा, शयनकक्ष, दराज तथा बाकससम्म सूक्ष्म रूपमा जाँच गरिएको थियो। खानतलासी बिहान करिब ९:३४ बजे सकिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको भन्ने सूचनाका आधारमा अनुसन्धानका लागि खानतलासी गरिएको हो। तर विस्तृत जाँचपछि कुनै पनि अवैध नगद, सामग्री वा गैरकानुनी वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।

खानतलासीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्योगी प्रकाश मुन्दडाले प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै पुर्जीका आधारमा घरमा प्रवेश गरेको र विस्तृत जाँच गरे पनि केही पनि फेला नपरेको बताए।

“प्रहरी बिहान ५ बजे पुर्जी देखाएर खानतलासीका लागि आएको थियो। सबै ठाउँमा खोजतलास गरियो, तर केही पनि भेटिएन। त्यसपछि प्रहरी फर्किएको छ,” मुन्दडाले भने।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले पनि विशेष सूचनाका आधारमा खानतलासी गरिएको पुष्टि गर्दै अनुसन्धानका क्रममा कुनै अवैध वस्तु फेला नपरेको जानकारी दिए।

उनका अनुसार, “घर र कार्यालय दुवै ठूलो भएकाले खानतलासीमा समय लागेको हो। विस्तृत खोजतलासपछि कुनै पनि गैरकानुनी सामग्री फेला नपरेपछि टोली फर्किएको छ।”

प्रहरीले भने प्राप्त सूचनामाथि अनुसन्धान जारी रहने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १८, सोमबार १२:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !