मधेस प्रदेशमा प्रहरीको विशेष अभियान: तीन वर्षमा लागुऔषधसहित २ हजार ८ सयभन्दा बढी पक्राउ

मधेस प्रदेशमा प्रहरीको विशेष अभियान: तीन वर्षमा लागुऔषधसहित २ हजार ८ सयभन्दा बढी पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार १२:१५
मधेस प्रदेशमा प्रहरीको विशेष अभियान: तीन वर्षमा लागुऔषधसहित २ हजार ८ सयभन्दा बढी पक्राउ

जनकपुरधाम :  प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि मधेस प्रदेशमा प्रहरीले विशेष अभियान सञ्चालन गरेसँगै सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्।

प्रहरीले आठ वटै जिल्लामा नियमित जाँच कडाइ गरेपछि गाँजा, चरेस, अफिम, ब्राउन सुगर र विभिन्न प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सनको कारोबारमा संलग्नहरू नियन्त्रणमा आउन थालेका हुन्।

ADVERTISEMENT

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशबाट लागूऔषधसम्बन्धी कसुरमा २ हजार ८११ जना पक्राउ परेका छन् भने २ हजार १२१ वटा मुद्दा दर्ता भएका छन्।

पक्राउ पर्नेहरूमा २ हजार ५५४ जना नेपाली, २५३ जना भारतीय र १ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो आर्थिक वर्षमा मात्रै प्रहरीले ६३० वटा मुद्दा दर्ता गर्दै ७८६ नेपाली, ८४ भारतीय र १ विदेशी गरी ८७१ जनालाई नियन्त्रणमा लिएको छ।

सोही अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, ३ किलोग्राम अफिम र ठूलो परिमाणमा फर्मास्युटिकल ट्याब्लेट, सिरप तथा इन्जेक्सन बरामद गरिएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परी ५८५ वटा मुद्दा दर्ता भएका थिए भने आव २०८०/८१ मा १ हजार १०४ जना पक्राउ पर्दा ७९७ वटा मुद्दा दर्ता भएका थिए। खुला सिमानाकाको फाइदा उठाउँदै भारतीय सीमावर्ती बजारबाट भित्र्याइने यस्ता लागूऔषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमा नाकामा कडाइ गरिएसँगै धेरैजसो युवाको साथबाट लागूऔषध बरामद हुने गरेको छ।

पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा, बालबालिका तथा महिलाहरूसमेत पर्न थालेका छन्। साथीसङ्गत, बेरोजगारी र पारिवारिक निगरानीको कमीका कारण युवाहरू कुलतमा फस्ने गरेकाले यसलाई रोक्न अभिभावक, विद्यालय र समुदाय नै सचेत हुनुपर्नेमा प्रहरीले जोड दिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार १२:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !