२४ घण्टामा सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु

२४ घण्टामा सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ९, शनिबार १५:०५
२४ घण्टामा सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू मकवानपुर, सुनसरी, कास्की, मोरङ र काठमाडौंका रहेका छन्।

पछिल्लो २४ घण्टामा मधेश प्रदेशमा २३ , सुदूरपश्चिम प्रदेशमा १६, लुम्बिनी प्रदेशमा १५, काठमाडौं उपत्यकामा १५, कोशी प्रदेशमा १२, बागमती प्रदेशमा ८, कर्णाली प्रदेशमा ८ तथा गण्डकी प्रदेशमा ३ जना घाइते भएका छन्।

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा कोशी प्रदेश र काठमाडौं उपत्यकामा दुई–दुई जनाको मृत्यु भएको छ भने बागमती प्रदेश र गण्डकी प्रदेशमा एक–एक जना रहेका छन्। प्रहरीका अनुसार मकवानपुरको बागमती गाउँपालिका ६ फापरबारी–बेतिनी भित्री सडकखण्डमा अनियन्त्रित भएर अटो सडकबाट करिब पाँच मिटर तल खस्दा चालक ३६ वर्षीय दीपक वाइबाको घटनास्थलमै मृत्यु भएको हो।

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित धरान–केराबारी सडकखण्डमा अनियन्त्रित भएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक ४५ वर्षीय गिरिराज शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका १० उत्तमचोकमा पर्यटक बसले जेब्राक्रसबाट सडक पार गरिरहेका ५२ वर्षीय राजु थापालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मोरङको बुढीगंगा गाउँपालिका ३ शान्ति चोकमा मिनी ट्रकले साइकलयात्री ४५ वर्षीय सन्तु खवासलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज क्षेत्रमा ईभी माइक्रोले पछाडिबाट आठ वटा सवारीसाधनलाई ठक्कर दिएको दुर्घटनामा माइक्रो चालक ५६ वर्षीय रामकृष्ण हवालको उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै, काठमाडौं महानगरपालिका १५ ढुंगेअड्डास्थित सडकखण्डमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका २३ वर्षीय समिन सेगीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार १५:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !