सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो: ओली

सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो: ओली
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार १६:३२
सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो: ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मिटरब्याज पीडितहरूलाई पुनः धोका दिएको आरोप लगाएका छन्।

आइतबार एमाले संसदीय विभागद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले देशको डुबेको अर्थतन्त्रलाई लुकाउन झन् गम्भीर सङ्कटतर्फ धकेलेको टिप्पणी गरे।

ADVERTISEMENT

अध्यक्ष ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्नुको सट्टा ढाँटपेच गरेर ढाकछोप गरेको बताए।

‘फेरि एक पटक मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ,’ उनले भने, ‘डुबेको अर्थतन्त्रलाई डुबेको छैन भनेर देखाउन यिनीहरूले यसलाई झन् डुबाइरहेका छन्। बजारमा मूल्य र कर वृद्धि अत्यधिक छ, तर सरकारमा बस्नेहरू सत्य कुरा बङ्ग्याएर बोलिरहेका छन्।’

रोजगारी सिर्जना गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै ओलीले युवाहरू बाध्य भएर विदेशिनु परेको यथार्थलाई बङ्ग्याइएको बताए।

उनले थपे, ‘हामीले रोजगारी दिएनौं, मानिसहरूलाई विदेश पठायौं भनेर हल्ला फैलाइयो। तर वास्तविकता के हो भने पोहोर सालको भन्दा अहिले विदेश जाने युवाहरूको सङ्ख्या झन् धेरै छ। सरकारमा भएकाहरू जनहित विपरीत कुरा बङ्ग्याएर बोल्छन्।’

नेपालमा एमालेको लोकप्रियतालाई षड्यन्त्रपूर्वक घटाउन खोजिएको दाबी गर्दै ओलीले भने, ‘हाम्रो पार्टी मात्र लोकप्रिय थियो नेपालमा, तर यसलाई अलोपप्रिय बनाइयो। अहिले हाम्रो लोकप्रियतालाई धेरै तल झारिएको छ, जसलाई हामीले फेरि जनताका बीचमा गएर उठाउनु पर्नेछ।’

उनले प्रधानमन्त्री बालेन शाहको सरकारको कार्यकालमा सेयर बजारबाट ५ खर्ब ४२ अर्ब रुपैयाँ गायब भएको बताए। ‘अहिले सेयर मार्केट कस्तो छ ? ५ खर्ब ४२ अर्ब रुपैयाँ त बजारबाट गायब भइसक्यो,’ उनले भने, ‘हामी अहिले एउटा फिक्सन संसारमा बाँचिरहेका छौं, जहाँ कागजी नोट वा डिजिटल माध्यमको पछाडि ठूलो पुँजी हराइरहेको छ।’

उनले विगतमा हतियार उठाएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको र राजतन्त्रलाई लोकतान्त्रिक एवं शान्तिपूर्ण जगबाटै बिदा गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गरे।

साथै, पार्टीका सांसदहरूलाई संसद्मा ‘स्पून फिडिङ’ को भर नपर्न र प्रविधि तथा पुस्तकको सहायताले अध्ययनशील भई जनसरोकारका मुद्दा उठाउन निर्देशन दिए। संसद्मा पार्टीको शक्ति सङ्ख्या मात्र नभई तथ्य र सत्य नै सबैभन्दा ठूलो बल हुने उनको भनाइ थियो।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार १६:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !