विश्वकप लिग-२: युएईमाथि नेपालको रोमाञ्चक जित

विश्वकप लिग-२: युएईमाथि नेपालको रोमाञ्चक जित
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १८, शुक्रबार १८:५२
विश्वकप लिग-२: युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको तेस्रो खेलमा नेपालले युएईलाई रोमाञ्चक खेलमा ६ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको युएईको इनिङ्स वर्षाले प्रभावित भएपछि ३८ ओभरमा २ सय ५५ रनको नयाँ लक्ष्य दिएको थियो। जहाँ युएई ८ विकेट गुमाएर २ सय ४८ रनमा समेटियो।

ADVERTISEMENT

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ्समा ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो। जवाफमा वर्षाले प्रभावित बनाएपछि डिएल म्याथोडमा युएईलाई नयाँ लक्ष्य दिएको थियो।

युएईका लागि मुहम्मद सहाददले ६५ रन बनाउँदा अर्यान्स शर्माले ३३ रन बनाए। त्यस्तै, अदिम उस्मानले १४ रन बनाउँदा हर्पित सिंहले ४१ तथा आकाशदिप नाथले ३६ रनको नटआउट इनिङ्स खेले। त्यस्तै, खुसजाइमा तनवीर ४९ रन बनाएर आउट भएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए।

त्यसअघि नेपालले बलियो लक्ष्य दिने क्रममा दीपेन्द्रले ९४ बलमा शतक प्रहार गरेका थिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। दिपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०० रन बनाए। उनी इनिङ्सको अन्तिम बलमा रनआउट भएका थिए। उनले यसअघि कीर्तिपुर मैदानमा नै २०२२ को मार्चमा पपुवा न्यु गिनीविरुद्ध १ सय ५ रनको शतकीय इनिङ्स खेलेका थिए।

खेलमा नेपालले सुरुवातमै २ विकेट गुमाए पनि सम्हालिएर ब्याटिङ गर्दै जारी श्रृंखलामा सर्वाधिक उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो। थप दोहोरो स्कोरका रुपमा ४ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका ओपनर विनोद भण्डारीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७९ बलमा ७ चौका प्रहार गरेका थिए।

त्यस्तै, कप्तान रोहित पौडेलले ४८ बलमा ३ चौकाको सहयोगमा ३९ रन बनाउँदा आरिफ शेख र ओपनर अर्जुन कुमालले समान ११ रन बनाएका थिए। दीपेन्द्रलाई अन्तिमसम्म गुल्सन झाले साथ दिए। गुल्सन इनिङ्सको अन्तिम बल बाँकी हुँदा ४४ रन बनाएर आउट भए। उनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

युएईका लागि अजय कुमार र जुनाइद सिद्दीकीले समान २/२ विकेट लिँदा खुजाइमा तनवीर र हाइदर अलीले १-१ विकेट लिए। जारी सिरिजमा नेपालले युएईमाथि लगातार दोस्रो जित निकालेको हो। जितसँगै नेपालले युएईबाट महत्वपूर्ण ४ अंक हासिल गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार १८:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !