असामविरुद्ध नेपालको ए टिम १५ रनले पराजित

असामविरुद्ध नेपालको ए टिम १५ रनले पराजित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार १८:०९
असामविरुद्ध नेपालको ए टिम १५ रनले पराजित

काठमाडौँ : असामको टीमविरुद्ध नेपालको ए टिम डर्क वर्थ नियम अनुसार १५ रनले पराजित भएको छ । यससँगै पाँच खेलको सिरिजमा असामले अग्रता लिएको छ । असामले १९० रनको बलियो स्कोर खडा गरेको थियो । नेपालले डेथ ओभरमा कमजोर बलिङ गर्दा असाम बलियो स्कोरमा पुग्न सफल भयो ।

अन्तिम दुई ओभरमा मात्रै असामका पुछारका छक्का चौकाको वर्षा गर्दै ब्याट्सम्यानले ५२ रन जोडेका थिए । नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमल सिंह ऐरीले २–२ विकेट लिए ।

ADVERTISEMENT

जवाफी ब्याटिङमा नेपालले खराब सुरुवात गर्दै १ रनमा ओपनर इशान पाण्डेलाई गुमायो । आक्रामक ब्याटिङ गर्न खोजेका कप्तान अनिल साह १३ बलमा २० रन बनाएर पेभिलियन फर्किए । यस्तै पवन सर्राफ पनि चलेनन् । उनले ९ बलमा ६ रन मात्रै जोड्न सके ।

अर्को इन्डबाट शुभ कंसाकारले भने राम्रो खेलिरहेका थिए । तर नेपाल ३ विकेट गुमाएर ६४ रनको अवस्थामा छँदा पानीले खेल विथोल्यो । खेल रोकिँदा कंसाकारले २१ बलमा ३३ रन बनाइसकेका थिए । थप खेल हुन नसकेपछि असामलाई डीएल मेथडका आधारमा विजयी घोषित गरिएको छ।

आज अष्ट्रेलियामा भएका दुई खेलमा नेपालको राष्ट्रिय टीमले हार व्यहोरेको थियो । साउथ अष्ट्रेलियासँग भएको पहिलो खेलमा तीन विकेटले र दोस्रोमा ३ रनले नेपाल पराजित भएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १८:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !