सप्तरीमा पानी अभाव चुलिँदै, मुख्यमन्त्री सिंहको पहलमा ट्याङ्करमार्फत आपूर्ति सुरु

सप्तरीमा पानी अभाव चुलिँदै, मुख्यमन्त्री सिंहको पहलमा ट्याङ्करमार्फत आपूर्ति सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २, शुक्रबार २१:१७
सप्तरीमा पानी अभाव चुलिँदै, मुख्यमन्त्री सिंहको पहलमा ट्याङ्करमार्फत आपूर्ति सुरु

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी जिल्लामा देखिएको चरम खानेपानी अभाव समाधानका लागि तात्कालिक पहल गरेका छन्।

खडेरीका कारण अधिकांश गाउँबस्तीमा पानीको हाहाकार उत्पन्न भएपछि प्रदेश सरकारले तीनवटा ट्याङ्कर परिचालन गरी प्रभावित क्षेत्रमा आपूर्ति सुरु गरेको हो।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहको निर्देशनमा डिभिजन वन कार्यालय सप्तरीको एक र प्रदेश सरकारबाट थप दुई गरी तीनवटा ट्याङ्कर पानी आपूर्तिमा परिचालन गरिएको छ। यस्ता ट्याङ्करहरू मार्फत पानी वितरण सुरु भइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार इनार, धारा र अन्य प्राकृतिक स्रोतहरू सुक्दै जाँदा जिल्लामा पानीको संकट भयावह बनेको छ। असार ३२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धान रोपाइँसमेत गर्न नसकिने स्थिति आएको निष्कर्ष निकाल्दै प्रदेश र संघ सरकारसँग सहयोगको माग गरेको थियो।

सोही निर्णयपछि प्रमुख जिल्ला अधिकारी दहालले प्रदेश सरकारसँग समन्वय गर्दै आपूर्तिको आग्रह गरेका थिए। मुख्यमन्त्री सिंहले तत्काल पहल गर्दै ट्याङ्कर परिचालनका लागि निर्देशन दिएका हुन्।

यसैबीच, आज जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका मुख्यमन्त्री सिंह सामान्य सेवाग्राहीसरह टोकन प्रणालीअनुसार लाइनमा बसेर नागरिकताको प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिएको दृश्य पनि सार्वजनिक भएको छ।

मुख्यमन्त्री सिंहको यस्तो व्यवहारले जनप्रतिनिधिमा आवश्यक देखिने सरलता र जवाफदेहिताको नमूना पेश गरेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार २१:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !