वीरगञ्जसहितका क्षेत्रमा खानेपानी संकट गहिरिँदै, प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील

वीरगञ्जसहितका क्षेत्रमा खानेपानी संकट गहिरिँदै, प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार ०९:४७
वीरगञ्जसहितका क्षेत्रमा खानेपानी संकट गहिरिँदै, प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील

जनकपुरधाम : वीरगञ्जसहित मधेशका विभिन्न ठाउँमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा सक्रिय भएको जनाएको छ। लगातारको गर्मी, सुक्खा र जलस्रोत सुक्दै जाँदा उत्पन्न संकट न्यूनीकरण गर्न सरकारले वारुणयन्त्र र ट्याङ्कर परिचालन थालेको हो।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र बुधवार बिहानदेखि संकटग्रस्त क्षेत्रमा खटाइएको छ। एक वारुणयन्त्रमा ५ हजार लिटर क्षमताको पानी अट्ने हुँदा एकपटकमा ४० हजार लिटर पानी वितरण गरिने प्रदेश सरकारका प्रवक्ताले जानकारी दिए।

ADVERTISEMENT

मुख्यमन्त्री सतिश कुमार सिंहले बुधवार बिहान वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै प्रदेश सरकार नागरिकको जीवनसँग जोडिएको आधारभूत सेवाको गम्भीरतापूर्वक सम्बोधनमा जुटेको बताए। “खानेपानीको संकट समाधानका लागि प्रदेश सरकार दिनरात क्रियाशील छ,” उनले भने, “यसमा नेपाली सेनाको सहकार्य उल्लेखनीय छ।”

प्रदेश सरकारले पठाएका वारुणयन्त्रहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने छन्। यिनको व्यवस्थापन प्रदेश सरकारमार्फत हुनेछ भने सञ्चालन नेपाली सेनाले गर्ने छ।

यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्याङ्कर प्रयोग गरेर पानी आपूर्ति गरिरहेको थियो। त्यसका साथै नेपाली सेनाबाट पनि थप ७ वटा ट्याङ्कर र १ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको प्रदेश सरकारद्वारा जनाइएको छ।

मुख्यमन्त्री सिंहले खानेपानी संकटका कारण समस्या भोगिरहेका नागरिकप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँगको समन्वयमा स्रोत साधनको अधिकतम प्रयोग गरेर समाधान खोजिरहेको बताए। उनले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सरकार नागरिकको साथमा रहेको स्पष्ट पारे।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०९:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !