मुख्यमन्त्री सिंहद्वारा जनकपुरधामका दुई सुधार केन्द्र अनुगमन, सुधारका लागि कडा निर्देशन

मुख्यमन्त्री सिंहद्वारा जनकपुरधामका दुई सुधार केन्द्र अनुगमन, सुधारका लागि कडा निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार २२:४४
मुख्यमन्त्री सिंहद्वारा जनकपुरधामका दुई सुधार केन्द्र अनुगमन, सुधारका लागि कडा निर्देशन

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार साँझ जनकपुरधाम उपमहानगरपालिका–८ मा रहेका ‘नयाँ मुस्कान सुधार केन्द्र’ र ‘किशोरी फाउन्डेसन सुधार केन्द्र’ अनुगमन गर्दै दुवै संस्थालाई भौतिक र व्यवस्थापकीय सुधारका लागि कडा निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहका अनुसार ‘नयाँ मुस्कान’ मा ५० जनासम्म मात्रै राख्न सकिने स्वीकृति भए पनि केन्द्रले १०५ जनासम्म राख्दै आएको छ। भीडभाडका कारण सेवाग्राहीलाई कोठामा कोचिएर बस्नुपर्ने स्थिति छ, शुल्क असुलाइ पारदर्शी छैन र कोठा समेत अव्यवस्थित रहेको सिंहको आरोप छ।

ADVERTISEMENT

“सुधार केन्द्र यातनागृह हुन हुँदैन,” अनुगमनपछि सिंहले भने, “यहाँ रहेकाहरुलाई बस्नेसुत्ने सुविधा तत्काल सुधार्न संचालकलाई निर्देशन दिएको छु ।”

त्यस्तै, ‘किशोरी फाउन्डेसन सुधार केन्द्र’ मा पनि एउटै कोठामा कैदीझैँ कोचिएर राखिएको, खानाको गुणस्तर न्यून रहेको र भौतिक पूर्वाधार अब्यवस्थित देखिएको मुख्यमन्त्रीको भनाई छ।

दुवै केन्द्रका सञ्चालकलाई सरकारी मापदण्डअनुरूप आवश्यक पूर्वाधार , स्वच्छ आवास, पौष्टिक खाना र पारदर्शी शुल्क संरचना एक साताभित्र लागू गर्न लिखित रूपमा जानकारी गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहले सुधार केन्द्रलाई “सभ्य नागरिक उत्पादन गर्ने थलो” को रूपमा विकास गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै भौतिक पूर्वाधार सुधार हुँदै नपुगे केन्द्र बन्द गर्ने चेतावनीसमेत दिए।

प्रदेश सामाजिक विकास मन्त्रालयले अनुगमन प्रतिवेदन आधारमा थप कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार १६, सोमबार २२:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !