जनकपुरमै न्यूरो उपचार : किन दौडिन्छन् काठमाडौं र दिल्ली बिरामी ?

जनकपुरमै न्यूरो उपचार : किन दौडिन्छन् काठमाडौं र दिल्ली बिरामी ?
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार १५:३४
जनकपुरमै न्यूरो उपचार : किन दौडिन्छन् काठमाडौं र दिल्ली बिरामी ?

मनिषा थापा
जनकपुरधामका साँघुरा गल्लीदेखि सर्लाही, महोत्तरी, सिरहा र सप्तरीका फराकिला सडकहरूमा हरेक दिन हुने सवारी दुर्घटनाले मानिसको जीवन क्षणभरमै बदलिदिन्छ। जनकपुर न्यूरो अस्पतालका न्यूरोसर्जन डा. विजयकुमार राउत भन्छन्, ‘उच्च गतिमा मोटरसाइकल चलाउने र हेलमेट नलगाउने प्रवृत्ति यहाँको ठूलो समस्या हो। जति तीव्र गति, त्यति गम्भीर चोट।’

यी दुर्घटनाहरूले टाउको र मेरुदण्डमा गम्भीर चोट पुर्‍याउँछ। समयमै उपचार नहुँदा कतिपय जीवनभर अपाङ्ग हुन्छन्, त कतिपयले ज्यान गुमाउँछन्। तराईमा स्नायु (न्यूरो) समस्याहरू सडक दुर्घटनामा मात्र सीमित छैनन् । मस्तिष्कघात (स्ट्रोक) यहाँको अर्को ठूलो चुनौती हो ।

ADVERTISEMENT

उच्च रक्तचाप र मधुमेहका कारण स्ट्रोकको जोखिम उच्च छ, तर समयमै अस्पताल नपुग्दा बिरामीको अवस्था जटिल बन्छ। डा. राउतका अनुसार, धेरैजसो बिरामीले सानो टाउको दुखाइलाई बेवास्ता गर्छन्, जसले ब्रेन ट्युमर, छारेरोग वा अन्य गम्भीर रोगको रूप लिन सक्छ।

‘मैले एक बिरामीलाई भेटेँ, जसले १४ वर्षसम्म छारेरोगको उपचारमा धामी-झाँक्रीको भर परे । हामीले औषधि सुरु गरेपछि उनी स्वस्थ भए। यदि समयमै उपचार भएको भए उनको जीवन धेरै सहज हुन्थ्यो,’ डा. राउत सुनाउँछन् । माइग्रेन र तनावजन्य टाउको दुखाइ पनि यहाँ सामान्य छ, विशेषगरी युवा र महिलाहरूमा । तर यस्ता लक्षणलाई सामान्य ठान्ने र धामी-झाँक्रीमा निर्भर हुने प्रवृत्तिले बिरामीलाई समयमै अस्पताल पुग्नबाट रोक्छ ।

जनकपुर न्यूरो अस्पताल: आशाको केन्द्र

जनकपुर न्यूरो अस्पताल मधेश प्रदेशको स्वास्थ्य सेवामा क्रान्तिकारी कदम हो। तीन वर्षअघि स्थापना भएको यो अस्पतालले सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सीमावर्ती भारतीय गाउँका बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ। डा. राउतको नेतृत्वमा रहेको टोलीले सडक दुर्घटना, स्ट्रोक, ब्रेन ह्यामरेज र जटिल न्यूरोलोजिकल समस्याहरूको उपचार गर्छ।

‘हामीसँग २४/७ आपतकालीन सेवा, सीटी स्क्यान, ईईजी र शल्यक्रियाका लागि आवश्यक सबै सुविधा छन्,’ उनी गर्वसाथ भन्छन्, ‘हाम्रो टोलीमा न्यूरोसर्जन, जनरल सर्जन, अर्थोपेडिक सर्जन, फिजिसियन र फिजियोथेरापिस्ट छन् । जटिल अवस्थामा हामी तीन/चार विशेषज्ञ मिलेर एकैसाथ शल्यक्रिया गर्छौं ।’

सडक दुर्घटनामा टाउको, छाती र हड्डीमा एकैपटक चोट लागेका बिरामीहरूलाई बचाउन उनीहरूले यस्ता संयुक्त शल्यक्रिया सफलतापूर्वक गरेका छन् । स्ट्रोक र चोटपटकका बिरामीका लागि फिजियोथेरापी र पुनर्वास सुविधा पनि उपलब्ध छ।

अस्पतालले जनचेतना कार्यक्रमहरू सञ्चालन गर्छ, जसले सानो टाउको दुखाइ र अन्य लक्षणहरूको समयमै पहिचान र उपचारबारे सचेतना फैलाउँछ। ‘हाम्रो लक्ष्य केवल उपचार गर्नु होइन, बिरामीलाई स्वस्थ जीवनमा फर्काउनु हो,’ डा. राउत भन्छन् ।

गुणस्तरीय उपचार हुँदाहुँदै पनि अविश्वास

जनकपुर न्यूरो अस्पतालले गुणस्तरीय उपचार प्रदान गर्दा पनि २०-३० प्रतिशत बिरामी स्थानीय अस्पतालप्रति विश्वास नगरी काठमाडौँ, विराटनगर वा भारतको दिल्ली-पटना जान रुचाउँछन्। ‘यो अविश्वासले समय र पैसाको बर्बादी मात्र होइन, बिरामीको स्वास्थ्य पनि जोखिममा पर्छ,’ डा. राउत गुनासो गर्छन्।

एक घटनामा, सडक दुर्घटनापछि आएका एक बिरामीको ब्रेन डेथ भइसकेको थियो। डा. राउतले शल्यक्रियाले फाइदा नहुने बताए, तर परिवारले विश्वास नगरी काठमाडौँ लगे। त्यहाँ पनि सबै अस्पतालले यही कुरा भने। ‘लाखौँ खर्च र समय बर्बाद भयो, तर हामीले सही सल्लाह दिएको थियौँ,’ उनले भने।

जनचेतनाको कमी अर्को ठूलो चुनौती हो। धेरैजसो बिरामीहरू सानो टाउको दुखाइलाई बेवास्ता गर्छन् वा धामी-झाँक्रीको भर पर्छन्। स्ट्रोक जस्ता गम्भीर रोगलाई भिटामिन इन्जेक्सन वा मसाजले ठिक हुन्छ भन्ने गलत धारणा छ। भाषा र सांस्कृतिक भिन्नताले मधेशी समुदायमा उपचार प्रक्रियालाई जटिल बनाउँछ। ‘उनीहरूले आफ्ना समस्या स्पष्टसँग व्यक्त गर्न सक्दैनन्, न त हामीले भनेका कुरा सबै बुझ्छन्,’ डा. राउत भन्छन्।

युवा पुस्तामा मदिरा र लागुपदार्थको बढ्दो प्रयोगले सडक दुर्घटना र न्यूरोलोजिकल समस्याहरू थप बढाएको छ। ‘शिक्षाको अभावले मानिसहरू समयमै चिकित्सककहाँ पुग्दैनन्। सानो टाउको दुखाइ पनि ट्युमर वा स्ट्रोकको लक्षण हुनसक्छ,’ उनी चिन्ता व्यक्त गर्छन्।

सामाजिक दबाब पनि ठूलो चुनौती हो। गम्भीर चोटपटकका बिरामीको उपचारमा अपेक्षित नतिजा नआएमा चिकित्सकलाई गाली वा हत्याराको आरोप लाग्ने गर्छ। ‘हामीले १० जनाको ज्यान बचायौँ तर एक जनाको अवस्था बिग्रियो भने हामीलाई ‘हत्यारा’ भनिन्छ। यो मानसिकताले काम गर्न गाह्रो बनाउँछ,’ उनले भने।

आशाको बाटो

यी चुनौतीका बाबजुद डा. राउत निराश छैनन्। शिक्षा, विश्वास र समयमै उपचारले तराईको स्वास्थ्य परिदृश्य बदल्न सकिने उनको विश्वास छ। ‘सरकार र मिडियाले स्वास्थ्य शिक्षालाई प्राथमिकता दिनुपर्छ। भिडियो, रिल्स, लेख र टेलिभिजनमार्फत जथाभावी औषधि र धामी-झाँक्रीमा भर पर्न नहुने कुराको महत्त्व बुझाउनुपर्छ,’ उनले सुझाए।

स्थानीय स्तरमा न्यूरोसर्जरी, सीटी स्क्यान र एमआरआई जस्ता सुविधा विस्तार गर्नुपर्ने उनको जोड छ। विश्वास निर्माणका लागि बिरामीका अनुभव र प्रतिक्रियालाई उनले आफ्नो सबैभन्दा ठूलो हतियार ठान्छन्। ‘जब बिरामीहरूले यहाँ सुलभ र गुणस्तरीय उपचार पाएको बताउँछन्, र काठमाडौँ जानु नपरेको भन्छन्, त्यो हाम्रो ठूलो उपलब्धि हो,’ उनी मुस्कुराउँदै भन्छन्।

चिकित्सकहरूको इमानदारी र जिम्मेवारीलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ। ‘गैर-विशेषज्ञहरूले स्नायु र नसा रोगका बिरामीलाई गलत उपचार वा गलत ठाउँमा रिफर गर्छन्। यो प्रवृत्ति रोक्नुपर्छ,’ उनले भने।

सामाजिक समर्थन र मानसिक स्वास्थ्य

सामाजिक समर्थन र मानसिक स्वास्थ्यमा पनि उनको विशेष ध्यान छ। ‘स्ट्रोक वा टाउकोमा चोट लागेका बिरामीलाई समाजले ‘पागल’ वा ‘काम नलाग्ने’ भन्छ। हामीले उनीहरूलाई हिँड्न, बोल्न र सामान्य जीवनमा फर्कन सक्छन् भन्ने आत्मविश्वास दिनुपर्छ,’ उनले जोड दिए। स्ट्रोकको उपचार चार घण्टाभित्र सुरु गर्न सकियो भने ८० प्रतिशत बिरामी निको हुने उनको अनुभव छ । ‘औषधि, शल्यक्रिया, फिजियोथेरापी र मानसिक समर्थनमार्फत हामी बिरामीहरूलाई नयाँ जीवन दिन्छौँ। तर ढिलो उपचार हुँदा ज्यान जाने खतरा हुन्छ,’ उनले थपे ।

डा. राउतको अपिल: स्वास्थ्य पहिलो प्राथमिकता

डा. राउत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन आग्रह गर्छन् । ‘स्वास्थ्यभन्दा ठूलो केही छैन। सानो टाउको दुखाइलाई पनि बेवास्ता नगर्नूस्। नजिकको स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा जनकपुर न्यूरो अस्पतालमा आउनूस्,’ उनी अपील गर्छन्, ‘चिकित्सकलाई विश्वास गर्नूस्, आफ्ना समस्या खुलस्त राख्नूस् र शंका भए सोध्नुस्। उपचार पाउनु तपाईंको अधिकार हो।’

उनको मिसन बिरामीको उपचारमा मात्र सीमित छैन। मधेशको समाजमा न्यूरोलोजिकल बिरामीहरूलाई हेला होइन, समर्थन प्राप्त होस् भन्ने उनको चाहना छ । ‘मैले ट्युमरको शल्यक्रिया गरेको एक बिरामीलाई समाजले ‘बाँच्दैन’ भन्यो। तर उनी एक वर्षपछि पनि स्वस्थ छन्। हामीले यस्तो समाज बनाउनुपर्छ जहाँ बिरामीले हौसला पाउन्,’ उनले भने ।

जनकपुर न्यूरो अस्पताल तराईको स्वास्थ्य सेवामा उज्यालो किरण बनेको छ। डा. विजयकुमार राउतको समर्पण, उनको टोलीको अथक मिहिनेत र बिरामीको जीवन बचाउने संकल्पले मधेशमा नयाँ आशा जगाएको छ। तर जनचेतनाको कमी, अविश्वास र सामाजिक बाधाहरू अझै ठूला चुनौती छन्। डा. राउतको यो कथा केवल एक चिकित्सकको संघर्ष होइन, सम्पूर्ण तराईको स्वास्थ्य परिदृश्य बदल्ने आह्वान हो ।

– अनलाइनखबर

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १५:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !