जनकपुरधाममा राम जानकी अस्पतालले सुरु गर्‍यो न्युरो, ट्रमा तथा स्पाइन सेन्टर

जनकपुरधाममा राम जानकी अस्पतालले सुरु गर्‍यो न्युरो, ट्रमा तथा स्पाइन सेन्टर
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण ३१, आईतवार १४:५९
जनकपुरधाममा राम जानकी अस्पतालले सुरु गर्‍यो न्युरो, ट्रमा तथा स्पाइन सेन्टर

जनकपुरधाम : राम जानकी अस्पताल प्रा.लि. जनकपुरधामले न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा ल्याएको छ। न्युरो, ट्रमा तथा मेरुदण्डसम्बन्धी समस्याका बिरामीलाई जनकपुरधाममै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले नयाँ सेन्टर सुरु गरेको हो।

सेन्टरको आइतबार अस्पतालका सञ्चालक गणेश साह, उनका कान्छा छोरा ऋषिकेश कुमार साह र न्युरो चिकित्सक डा. आलोक झाले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा सञ्चालक साह र उनकी श्रीमतीले पूजापाठसमेत गरेका थिए।

ADVERTISEMENT

नयाँ सेन्टरमा न्युरो चिकित्सक डा. आलोक झाले विशेषज्ञ सेवा दिनेछन्। अस्पतालका व्यवस्थापक मिथलेश साहका अनुसार सेन्टर सञ्चालनमा आएको अवधिमा डा. झाले अस्पतालबाटै न्युरोसम्बन्धी पाँच जना बिरामीको सफल उपचार गरिसकेका छन्।

डा. झासँग विराटनगरस्थित न्युरो अस्पतालमा लामो समय काम गरेको अनुभव रहेको अस्पतालले जनाएको छ। न्युरो तथा स्नायु प्रणालीका जटिल समस्या, दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारमा अनुभव हासिल गरेका डा. झाको सेवाबाट जनकपुरधामसहित मधेश प्रदेशका बिरामी लाभान्वित हुने अस्पतालको अपेक्षा छ।

२०६५ सालदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको राम जानकी अस्पतालले न्युरो, ट्रमा तथा स्पाइनसम्बन्धी उपचारका लागि बिरामीलाई अन्य सहरमा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

अस्पतालका अनुसार सेन्टरबाट न्युरोसम्बन्धी विभिन्न समस्या, दुर्घटनाबाट हुने चोटपटक तथा मेरुदण्डसम्बन्धी रोगका लागि विशेषज्ञ परामर्श र उपचार सेवा उपलब्ध हुनेछ। जनकपुरधाममै यस्तो विशेषज्ञ सेवा सुरु भएपछि उपचारका लागि विराटनगर, काठमाडौंलगायतका सहरमा जानुपर्ने बिरामीको बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

अस्पताल व्यवस्थापक साहले आगामी दिनमा न्युरो, ट्रमा तथा स्पाइन सेवाको दायरा थप विस्तार गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १४:५९
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !