एउटा किसान परिवारको त्यो विद्रोही यात्रा : क्रान्तिमै सकियो सिंगो परिवार

एउटा किसान परिवारको त्यो विद्रोही यात्रा : क्रान्तिमै सकियो सिंगो परिवार
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १०:२८
एउटा किसान परिवारको त्यो विद्रोही यात्रा : क्रान्तिमै सकियो सिंगो परिवार

बोधमाया यादव
धनुषाको बरमझिया गाउँ (हाल गणेशमान चारनाथ नगरपालिका) । यही गाउँको सामान्य किसान परिवारमा वि.सं. २००३ सालमा जन्मिनु भएका थिए रामवृक्ष यादव । बुवा रामलखन यादव र आमा सम्पैत देवीका छोरा रामवृक्ष पछि ‘मास्टर साहेब’ नामले परिचित हुनुभयो । तर, यो नाम केवल शिक्षकको परिचय थिएन । यो एउटा संघर्षशील, विद्रोही र क्रान्तिकारी जीवनको पर्याय बन्यो ।

रामवृक्ष यादवले वि.सं. २०२२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसपछि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह पूरा गरी आफ्नै गाउँको प्राथमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा काम थाल्नुभयो । शिक्षण पेशामा रहे पनि उहाँको चेतना कक्षाकोठाभन्दा बाहिर फैलिएको थियो । समाजमा व्याप्त शोषण, असमानता र अन्यायले उहाँलाई राजनीतिक बाटोतर्फ डो¥यायो ।

ADVERTISEMENT

त्यही वर्ष सिरहाको बंगठिया गाउँका सुब्बा यादवकी जेठी छोरी रामकुमारी यादवसँग उहाँको विवाह भयो । रामवृक्ष र रामकुमारीको दाम्पत्य जीवनबाट चार छोरीहरु बोधमाया, कल्याणी, सुधा र सुनिता तथा एक मात्र छोरा शेखर यादव जन्मिए ।सामान्य परिवारमा जन्मिएका यी सन्तानले पछि सामान्य जीवन रोजेनन् । उनीहरूको घर नै राजनीतिक चेतना, त्याग र संघर्षको पाठशाला बन्यो ।
‘पार्टी नै मेरो लागि सबैथोक हो’

रामवृक्ष यादवका लागि राजनीति पेशा वा अवसर थिएन । त्यो जीवनको उद्देश्य थियो । उहाँले भन्ने गर्नुहुन्थ्यो, “पार्टी नै मेरो लागि सबैथोक हो ।”
वि.सं. २०२९ सालमा उनी नेकपा (चौम) को सम्पर्कमा पुग्नुभयो । त्यसको एक वर्षपछि मजदुर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा संगठन विस्तार र जनसंघर्षमा होमिनुभयो ।

उहाँको राजनीतिक सक्रियता तत्कालीन राज्यका लागि चुनौती बन्यो । शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा उहाँलाई पक्राउ गरी जेल हालियो । उहाँको गिरफ्तारीपछि बरमझिया गाउँका नागरिकसमेत प्रशासनिक दमनको चपेटामा परे ।


वि.सं. २०३० सालको कात्तिकमा जेलबाट मुक्त भएपछि पार्टीले उहाँको काम र प्रतिवद्धताको मूल्यांकन गर्दै वि.सं. २०३१ सालमा सक्रिय सदस्यता प्रदान ग¥यो । कम्युनिस्ट पार्टीसँगको उहाँको सम्बन्ध सार्वजनिक भएपछि राज्यले उहाँलाई शिक्षण पेशाबाट निष्कासन गरिदियो । जागिर गुम्यो, तर संघर्ष रोकिएन ।
वि.सं. २०३५ सालमा बरमझियामा सामन्त र मजदुरबीच भएको आन्दोलनका क्रममा उहाँलाई पुनः पक्राउ गरियो । तर, स्थानीय जनताले प्रहरीको नियन्त्रणबाट उहाँलाई फुत्काए । त्यही वर्ष सिन्धुलीको रघुनाथ कोइराला हत्या प्रकरणमा पनि उहाँलाई जबर्जस्ती फसाइयो ।

राजकाज अपराध अन्तर्गत वि.सं. २०३५ साल पुस १ गतेदेखि २०३७ साल वैशाख ५ गतेसम्म उहाँले जेल जीवन बिताउनु भयो । पछि राजबन्दी रिहाइका क्रममा उहाँ मुक्त हुनुभयो ।

बहुदलको हार र निर्दलको जितपछि उहाँको घर तोडफोड गरियो । घरमा रहेको लाखौँ रुपैयाँ बराबरको सम्पत्ति लुटियो । बरमझियाका शोभित यादव, बिसुनदेव यादव, दयाराम यादव, सन्तोषी यादव, दामोदर यादव र इद्रिस मियाँ लगायतका परिवार समेत त्यस लुटपाटको सिकार बने । त्यसपछि रामवृक्ष भूमिगत हुन बाध्य हुनुभयो ।

जेल, यातना र भागदौड
वि.सं. २०३९/४० सालतिर उहाँलाई ज्यानसम्बन्धी मुद्दामा षड्यन्त्रपूर्वक फसाइयो । वि.सं. २०४० सालमा एक व्यक्तिको विष सेवनबाट मृत्यु भएपछि त्यस घटनामा समेत प्रशासनले रामवृक्षलाई दोषी बनायो । हिरासतमा यातना दिएर उहाँको खुट्टासमेत भाँचिदिएको थियो ।
जनकपुर अञ्चल अस्पतालमा उपचाररत अवस्थामा रहेका रामवृक्षलाई जनता र पार्टीको सहयोगमा अस्पतालबाट भगाइयो । उपचारको बहानामा राज्यको निगरानीमा रहेका एक क्रान्तिकारी नेताको त्यो पलायन आफैँमा एउटा साहसिक राजनीतिक घटना थियो ।

वि.सं. २०४१ सालमा नेकपा (मशाल) को पाँचौँ महाधिवेशनपछि उहाँ पार्टीको केन्द्रिय सदस्य बन्नुभयो । तर, दमन र मुद्दाको शृंखला रोकिएन । वि.सं. २०४५ साल जेठदेखि २०४८ सालसम्म उहाँले कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताउनु भयो ।

उहाँ नेता मात्र हुनुहुन्थेन । लेखक, गायक र संगीतवादक पनि हुनुहुन्थ्यो । जेलबाटै उहाँले आफ्ना जेठा ज्वाइँ रामकुमार यादवका नाममा हिन्दीमा शुभकामना कविता लेखेर पठाउनु भएका थिए । कवितामा संघर्ष, त्याग, मातृभूमिको सेवा र अमर इतिहास निर्माणको आह्वान थियो । कविता यस प्रकार छः
रा : राष्ट्र कि पुकार ले नव वर्ष आया है !
म : मनुष्यो कि आवाज ले नव वर्ष आया है !!
कु : कुमार्ग पे ना जा कभी यही संदेश लाया है !
मा : मातृभुमी की सेवाका संदेश लाया है !!
र : रत रह संघर्ष पे, जीवन ही संघर्ष है !!!
या : या कुर्वान हो जा इस देश पे यही यो निष्कर्ष है !
द : दव के ना रहना कभी यही तो निष्कर्ष है !!
व : वह वक्त ही महान् है जहाँ उत्सर्ग है !!!
को : कोशिस रहे हर वक्त ओ हर क्षण !
शु : शुभ कर्म करना है हर वक्त ओ हर क्षण !
भ : भलाइ हो तुम्हारे कर्मो से इस देशको प्यारे !!
का : काम करना है सब को हर कोई करके जातै है !
म : मरना है सब को हर कोई मर के जाते है !!
ना : नाम अमर इतिहास मे हर कोई करके जातै है !!!

उहाँका लागि जीवन नै संघर्ष थियो, र संघर्ष नै जीवनको अर्थ ।
हत्या भयो मास्टर साहेबको

वि.सं. २०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्द जनकपुरबाट सफल बनाएर घर फर्किने क्रममा रामवृक्ष यादवको हत्या गरियो ।
भदौ २ गते तत्कालीन शाही सेना र प्रहरीले नेपाली कांग्रेसको इशारामा षड्यन्त्रपूर्वक उनको हत्या ग¥यो । जनयुद्धको तयारी र संगठन निर्माणमा सक्रिय रहेका मास्टर साहेबको हत्या एउटा व्यक्तिको अन्त्य मात्र थिएन; त्यो मधेसमा उदीयमान वर्गीय र राजनीतिक प्रतिरोधमाथिको प्रहार थियो ।
तर, उहाँको मृत्युले परिवारलाई चुप गराएन । बरु, त्यही शोक आगामी पुस्ताको राजनीतिक प्रतिवद्धतामा रूपान्तरण भयो ।

छोरा शेखर : पिताको पदचाप पछ्याउँदै
वि.सं. २०३५ सालमा जन्मिएका शेखर यादव रामवृक्ष र रामकुमारीका एकमात्र छोरा थिए । विद्यार्थी जीवनदेखि नै तीक्ष्ण बुद्धिका शेखर पिताजस्तै पार्टी र क्रान्तिप्रति दृढ थिए ।


वि.सं. २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका शेखरले तत्कालीन धनुषा जिल्ला पार्टीभित्र देखिएको पलायनवादविरुद्ध कठोर संघर्ष चलाए । पार्टी र क्रान्तिबाट भाग्नेहरूविरुद्ध उनले अभियान नै सञ्चालन गरे । उनका लागि पिताको आदर्श केवल स्मृति थिएन, त्यो आफूले बाँच्नुपर्ने राजनीतिक मार्ग थियो ।
न्यायपूर्ण आन्दोलनमा सक्रिय रहेकै बेला वि.सं. २०५८ साल पुस १४ गते भारतको दरभंगाबाट उपचार गराई जिल्ला फर्किने क्रममा उनलाई जयनगरमा पक्राउ गरियो । बिहान करिब ११ बजे भारतीय र नेपाली प्रहरी टोलीले उनलाई पक्राउ गरी जयनगर थानामा राति १२ बजेसम्म राख्यो । त्यसपछि धनुषाको सीमावर्ती इनर्वामा भारतीय पक्षले उनलाई नेपाली प्रहरीलाई बुझायो ।

सुपुर्दगीपछि शेखरलाई धनुषाको खजुरी थानामा करिब दुई घण्टा राखियो । त्यसपछि थुनाबाट निकालेर तत्कालीन नेपाली सेनाले राति करिब २ बजे निर्ममतापूर्वक हत्या ग¥यो । रामवृक्षपछि उनका छोराको हत्या भयो । परिवारमाथिको राज्य दमन अझ गहिरिँदै गयो ।

रामकुमारी : घर सम्हाल्ने हातदेखि आन्दोलनको नेतृत्वसम्म
वि.सं. २००७ सालमा सिरहाको बंगठिया गाउँमा जन्मिएकी रामकुमारी यादव सुब्बा यादव र भोक्सिनी यादवकी जेठी सन्तान हुनुहुन्थ्यो । विवाहपछि उहाँले रामवृक्षको जीवनसाथी मात्र होइन, संघर्षसाथीको भूमिका निर्वाह गर्नुभयो ।


रामवृक्ष जेलमा हुँदा चार छोरी, एक छोरा र सासूसहितको परिवार सम्हाल्ने जिम्मेवारी रामकुमारीकै काँधमा थियो । घरको अभाव, प्रशासनिक निगरानी र राजनीतिक दमनबीच उहाँले स्थानीय पार्टी गतिविधिमा पनि सक्रियता जनाउनु भयो । जेलमा रहेका पतिलाई निरन्तर हौसला र प्रेरणा दिइरहनु हुन्थ्यो ।
रामवृक्षमाथि डकैती, ज्यान मार्ने र राजकाज अपराधका मुद्दा लाग्दा पनि रामकुमारी विचलित हुनु भएन । उहाँले पतिको आदर्श र निष्ठालाई कहिल्यै झुक्न दिनुभएन । आफ्ना सन्तानलाई उहाँले गरिबी र अभावसँग जुध्न सिकाउनु भयो, तर अन्यायसँग सम्झौता गर्न सिकाउनु भएन ।

वि.सं. २०५१ साल भदौ २ गते रामवृक्षको हत्या हुँदा उहाँ मुर्छित हुनुभयो । तर, शोकलाई शक्तिमा बदल्नु भयो । त्यसको केही वर्षपछि एकमात्र छोरा शेखरको पनि हत्या भयो । वि.सं. २०५९ सालमा छोरीज्वाइँ डम्बर यादवको हत्या भयो । उहाँका देवरहरू रामसागर, हरि र रामजुलुमलाई समेत तत्कालीन शाही सेनाले हत्या ग¥यो ।
एकपछि अर्को हत्या, गिरफ्तारी र पीडाबीच पनि रामकुमारीले संघर्ष छाड्नु भएन । उहाँ जनयुद्धमा सक्रिय हुनुभयो र पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नु भयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सदस्य, संयुक्त जनमोर्चा नेपालकी केन्द्रिय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालकी केन्द्रिय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिकी केन्द्रिय उपाध्यक्ष तथा एकीकृत नेकपा (माओवादी) की केन्द्रिय सल्लाहकार सदस्यका रूपमा उहाँले राजनीतिक भूमिका निर्वाह गर्नुभयो ।
उहाँ अन्तरिम संविधानसभा सदस्य हुनुभयो । वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ६ बाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य समेत बन्नुभयो ।

सिलिन्डरको आगोमा निभ्यो अर्को जीवन
वि.सं. २०६७ साल साउन २८ गते बिहान करिब ३ बजे ग्यास सिलिन्डरबाट ग्यास लिक भएर लागेको आगोमा रामकुमारी गम्भीर घाइते हुनुभयो । उपचारका लागि भारतको सफदरजंग अस्पताल लगिए पनि उपचारकै क्रममा साउन २९ गते उहाँको दुःखद निधन भयो ।

जीवनभर राज्य दमन, पारिवारिक क्षति र राजनीतिक संघर्ष झेल्नु भएकी रामकुमारीको अन्त्य पनि पीडादायी दुर्घटनामै भयो । तत्कालीन एकीकृत नेकपा (माओवादी) ले उहाँलाई मरणोपरान्त ‘मधेसकी माता’ सम्मानबाट विभूषित गरेको थियो । यो सम्मान केवल एक नेतृलाई दिइएको सम्मान थिएन । यो मधेसको राजनीतिक आन्दोलन, जनयुद्ध र वर्गीय संघर्षमा उहाँले दिनुभएको योगदानको स्मरण थियो ।

छोरीहरूमा जीवित छ सपना
रामवृक्ष यादव र रामकुमारी यादवको परिवारले क्रान्तिमा केवल एक सदस्य मात्रै गुमाएन । परिवारका सदस्यहरू क्रमशः हत्या, जेल, यातना र भूमिगत जीवनको सिकार भए । रामवृक्षका भाइहरू, छोरा, ज्वाइँ र अन्ततः रामकुमारी स्वयं एकपछि अर्को जीवन राजनीतिक हिंसाको भुमरीमा समाप्त भयो ।
तर, परिवारको कथा मृत्युमा मात्रै टुंगिएनन् ।

आज पनि रामवृक्ष र रामकुमारीका छोरी तथा ज्वाइँहरू बोधमाया–रामकुमार, कल्याणी–श्रीदेव, सुधा–रामबहादुर र सुनिता–रामानन्द—नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । बाल्यकालदेखि घरमै देखेको राजनीतिक संघर्ष, सुनेको क्रान्तिको भाषा र भोगेको राज्यदमनले उनीहरूको चेतनामा गहिरो छाप छाडेको छ ।
आमाबाबुको सपना पूरा गर्ने प्रतिबद्धतासहित उनीहरू अझै त्यही पदचाप पछ्याइरहेका छन् ।

रामवृक्ष यादवको घर अब केवल एउटा परिवारको घर रहेन । त्यो शोषणविरुद्धको प्रतिरोध, त्याग र राजनीतिक आस्थाको प्रतीक बन्यो । रामकुमारीले त्यस घरलाई दुःखका बीच सम्हाल्नुभयो, सन्तानलाई संघर्षको बाटो देखाउनु भयो र अन्ततः आफैँ पनि त्यही संघर्षको इतिहासमा विलीन हुनुभयो । यसरी एउटा सिंगो परिवार क्रान्तिमै समाहित भयो, कसैले जेलमा, कसैले गोलीमा, कसैले आगोमा । तर उहाँहरूले छाडेको सपना अझै जीवित छ, उनीहरूका छोरी–ज्वाइँहरूको संघर्षमा ।

(लेखिका नेकपाकी केन्द्रिय सदस्य, सहिद रामवृक्ष–रामकुमारीकी ज्येष्ठी सुपुत्री तथा पूर्वमन्त्री हुन् ।)

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !