म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारी प्रक्रिया ठप्प

म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारी प्रक्रिया ठप्प
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १२:४६
म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारी प्रक्रिया ठप्प

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै देशभरका म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोक्ने जनाएको छ। आफ्ना माग सम्बोधनका लागि सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनलाई थप कडा बनाउँदै सेवा बन्द गर्नुपरेको संघको भनाइ छ।

ADVERTISEMENT

यसअघि संघले आन्दोलनका क्रममा पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन र भिसा स्ट्याम्पिङलगायतका सेवा रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले अब सम्पूर्ण काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो।

म्यानपावर कम्पनी बन्द भएसँगै नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात तयारी, भिसा प्रक्रिया तथा श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने कार्य प्रभावित हुने भएका छन्।

संघले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग पुनः आग्रह गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत संघले दिएको छ।

म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ठूलो संख्याका नेपाली श्रमिक प्रभावित हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १२:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !