हिन्दुत्वको नाममा उच्छृङ्खलता : असली हिन्दु र नकली ठेकेदारबीचको गहिरो अन्तर : अरुण सहनी

हिन्दुत्वको नाममा उच्छृङ्खलता : असली हिन्दु र नकली ठेकेदारबीचको गहिरो अन्तर : अरुण सहनी
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार ०८:३१
हिन्दुत्वको नाममा उच्छृङ्खलता : असली हिन्दु र नकली ठेकेदारबीचको गहिरो अन्तर : अरुण सहनी

समाजको अदृश्य गल्लीदेखि डिजिटल चौतारीसम्म, पछिल्लो समय एक विशेष प्रवृत्ति मौलाउँदै गएको छ। कसैले आफूलाई “हिन्दुत्वका सेना” भनेर प्रस्तुत गर्दैछ, कसैले “धर्मरक्षक” को खोल ओढ्दैछ। उनीहरूका भाषण चर्का छन्, नाराहरू उत्तेजक छन्, र दृष्टिकोण द्वेषपूर्ण। यिनले अरू धर्म, जात वा विचारप्रति घृणा र तिरस्कार मात्रै होइन, हिंसात्मक व्यवहारसम्मलाई धर्मको नाममा वैधता दिने दुस्साहस गर्दै आएका छन्। तर यिनको यही व्यवहारले हिन्दुत्वको गहिरो र उदात्त मर्ममाथि कलङ्कको छाया फैलाइरहेको छ।

हिन्दुत्व कुनै नारा होइन,जीवनशैली हो। यो आत्मसंयम, सहिष्णुता, करुणा, र सत्यको दर्पण हो। असली हिन्दु त्यो हो जसले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने भावनालाई आत्मसात गर्छ। तर दुर्भाग्यवश, आज धर्मका नाममा आत्म–प्रचार, राजनीतिक स्वार्थको पोषण र बाह्य शक्तिको कठपुतली बन्ने प्रवृत्ति बढ्दो छ। के यस्ता तत्वहरूलाई हामी हिन्दुत्वका प्रतिनिधि ठान्ने?

यिनै स्वघोषित ठेकेदारहरू धर्मको आवरणमा घृणा, हिंसा र सामाजिक विभाजनको बीउ रोप्दैछन्। यिनीहरूलाई न त धर्मको गहिरो अध्यात्मिक चेतना छ, न त समाजप्रतिको उत्तरदायित्वबोध। यस्ता व्यक्तिहरू केवल नफरतको व्यापार चलाउने व्यापारी हुन्, जो धार्मिक संवेदनशीलतालाई राजनीतिक मुद्रामा रूपान्तरण गर्दैछन्।

हिन्दुत्वको वास्तविक सार कुनै जात, मजहब वा पार्टीको विरोध होइन; बरु सबै प्राणीमात्रप्रति दया, सहिष्णुता र सद्भावको निर्माण हो। समाजलाई भिन्नताको रेखाले होइन, साझा मानवीयताको सेतुले बाँध्ने हो। यसकारण, आजको नागरिकले प्रश्न गर्नैपर्छ ,हामी कसको पछि लाग्ने? ती असली साधकहरूको, जसले हिन्दुत्वलाई जीवनमा उतारेका छन्? कि ती नकली प्रचारकहरूको, जसले हिन्दुत्वको नाममा कलङ्क मात्र पोतेका छन्?

समय आएको छ । हामीले आँखा खोल्ने, विवेक प्रयोग गर्ने, र धर्मको नाममा फैलाइएको झूट र घृणालाई अस्वीकार गर्ने। किनभने हिन्दुत्व उन्माद होइन, चेतना हो।

लेखक सहनीको व्यक्तिगत विचार हो।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०८:३१

तपाईको प्रतिक्रिया !