बाजुराका किसानलाई चाडपर्वभन्दा बाली भित्र्याउने चटारो

बाजुराका किसानलाई चाडपर्वभन्दा बाली भित्र्याउने चटारो
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १२:५०
बाजुराका किसानलाई चाडपर्वभन्दा बाली भित्र्याउने चटारो

बाजुरा : दशैँ–तिहारको रौनक बढिरहेका बेला बाजुराका किसानलाई भने चाडपर्वभन्दा खेतबारीमा पाकेको बाली भित्र्याउने चटारो छ। जिल्लाका नौवटै स्थानीय तहका किसान धान, कोदो, कागुनो, झुमरो, चिनो, फापर र सिमीलगायतका बाली भित्र्याउन व्यस्त छन्।

गाउँघरमा चाडपर्वको चहलपहल बढे पनि किसानको प्राथमिकतामा भने कृषि कर्म परेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको अन्नबाली समयमै भित्र्याउनुपर्ने भएकाले उनीहरू बिहानैदेखि साँझ अबेरसम्म खेतबारीमा खटिएका छन्। कतिपय किसान हिउँदे खेतीका लागि खेतबारी तयार पार्नसमेत जुटेका छन्।

ADVERTISEMENT

चाडपर्वका बेला परिवारसँग रमाउने, नयाँ लुगा किन्ने र मिठोमसिनो खाने रहर भए पनि पाकेको बाली सुरक्षित गर्नु किसानको पहिलो प्राथमिकता बनेको छ। प्रतिकूल मौसमका कारण समयमै बाली भित्र्याउन नसक्दा उत्पादनमा क्षति पुग्ने चिन्ताले उनीहरूलाई थप व्यस्त बनाएको छ।

बडिमालिका नगरपालिका–७ की स्थानीय जुनादेवी पाध्यायले दशैँ–तिहार आए पनि गाउँघरमा खासै चहलपहल नरहेको बताइन्।

‘चाडपर्व आए पनि गाउँघरमा खासै त्यति चहलपहल छैन। सबै किसान खेतबारीमा व्यस्त छन्। पाकेको धान तथा कोदोबाली भित्र्याउन यहाँका किसानलाई निकै चटारो छ,’ उनले भनिन्।

जिल्लाका त्रिवेणी, बुढीगङ्गा, खप्तड छेडेदह, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामीकार्तिक, हिमाली र जगन्नाथका किसान यतिबेला बाली भित्र्याउने काममा व्यस्त छन्। उनीहरू धान, कागुनो, झुमरो, चिनो र फापर काट्ने, सुकाउने तथा चुट्ने काममा जुटेका छन्। गाउँगाउँका खेतबारीमा किसानको चहलपहल बढेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा धान खेतीका लागि कुल ७ हजार २३० हेक्टर क्षेत्रफल रहेको छ। त्यसमध्ये ५ हजार २०० हेक्टरमा सिँचित तथा रोपाइँ हुने खेत र २ हजार ३० हेक्टरमा असिँचित तथा पाखो धान खेती गरिन्छ।

जिल्लाको कुल खेती गरिएको जमिन २६ हजार १६ हेक्टर रहेको छ। यसमध्ये २७.३५ प्रतिशत क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

बाजुरामा आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ५६५ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ३०३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा १७ हजार ५०० मेट्रिक टन उत्पादन भएको थियो। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन घटेर १३ हजार ४५५ मेट्रिक टनमा सीमित भएको तथ्याङ्क छ।

पछिल्लो समय बाजुरामा उन्नत जातका धान खेती गर्ने प्रचलन बढ्दै गएको छ। किसानले रामधान, जुम्ली, सावित्री, हिमाली र खुमललगायतका जातका धान लगाउने गरेका छन्।

उन्नत जातका धानप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कृषि ज्ञान केन्द्रले रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १२:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !