मेयर मलाहले आफ्नै ज्वाईंलाई रोजगार संयोजकमा गरे नियुक्त

मेयर मलाहले आफ्नै ज्वाईंलाई रोजगार संयोजकमा गरे नियुक्त
मधेशपत्र मधेशपत्र २०८१ माघ ५, शनिबार २३:५७
मेयर मलाहले आफ्नै ज्वाईंलाई रोजगार संयोजकमा गरे नियुक्त

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले रोजगार संयोजकमा आफ्नै ज्वाइँ धर्मदेव मुखियालाई नियुक्त गरेका छन ।

रोजगार संयोजक पदमा आफ्नै ज्वाइँको नाम निकाल्न मेयर मुखिया सफल भएका हुन् । शनिबार सफल उम्मेदबारको नाम निकाल्दा बैकल्पिक उम्मेदबारको समेत नाम उल्लेख गरिएको छैन् ।

ADVERTISEMENT

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले उत्तिर्ण मार्कमा समेत नआएका कारण वैकल्पिक निकाल्न नसकिएको बताए ।

‘छनौट समिति बनाएर निर्णय गरिएको हो’ उनले भने, ‘कोहि पनि प्रतिस्पर्धामा आएनन् ।’

रोजगार संयोजक लगायतका पद खाली भएपछि नगरपालिकाले पदपूर्तिका लागि २२ चैत २०८० मा सूचना निकालेर परीक्षा लिने तयारी गरेको थियो । तर मेयर सहितका जनप्रतिनिधिहरुले निकालेको विज्ञापन अनुसार आपसी बाँडफाँट गरेर अनधिकृत तरिकाले नियुक्त गर्न खोजेपछि कर्मचारी र जनप्रतिनिधिबीच विवाद बढेको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जनप्रतिनिधिका आफन्त र छोराछोरीलाई नियुक्ति गर्न नमानेपछि नेकपा एमालेबाट जितेका मेयर मलाह सत्ताको आडमा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन गरी सर्तसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतमा पशु अधिकृत रामकिसुन यादवलाई ल्याएर नियुक्ति प्रक्रिया अगाडि बढाउन लगाएका थिए ।

अख्तियारको उजुरीलाई वेवास्ता

मेयर मुखियाले आफ्ना ज्वाइँलाई यो पदमा नियुक्त गर्न खोजेको भन्दै ५ मंसीर २०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । बिना प्रकृयाको सिधै नियुक्ति गर्न खोजेको भन्दै प्रकृयालाई नै रद्द गर्न उजुरीमा भनिएको थियो ।

तर, उजुरीका वावजुद मेयर मुखियाको प्रभाव र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको संलग्नतामा मेयरका ज्वाइँलाई यो पदमा नियुक्त गरिएको छ ।

यो नियुक्तिको चौतर्फी बिरोध शुरु भएको छ । मेयरका ज्वाइँसँगै यो पदमा परीक्षा दिएका तीन जनाले आफूहरुलाई वाइपास गर्दै सिधैं आफ्नो मान्छेलाई नियुक्त गरेको बताएका छन् ।

प्रकाशित मिति: २०८१ माघ ५, शनिबार २३:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !