भारतको लाइफ केयर र नेपालको नेक्सस रुपन्देही फाइनलमा

भारतको लाइफ केयर र नेपालको नेक्सस रुपन्देही फाइनलमा
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १८:०८
भारतको लाइफ केयर र नेपालको नेक्सस रुपन्देही फाइनलमा

रुपन्देही : भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही एघार रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेका छन् ।

भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई तथा दोश्रो सेमिफाइनलमा नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

फाइनल खेल शनिवार दिउँसो १२:३० बजे सुरु हुनेछ । पहिलो सेमीफाइनलमा भारतको लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई १५६ रनले पराजित गर्‍यो ।

लाइफ केयरले दिएको २४८ रनको लक्ष्य पछ्याएको जावेद गोहारले १५.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनायो । जावेद गोहरको लागि ओपनर अलि हुसेनले सर्वाधिक ४२ रन बनाए भने रिशिभ जोशीले २३ र मोहम्मद इस्तियाकले १५ रन बनाए ।

लाइफ केयरको बलिंगमा क्षितिज त्रिपाठी एक्लैले ४ विकेट लिए । उनले ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चिए । कप्तान योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिए। यसअघि टस हारेर ब्याटिंग गरेको लाइफ केयरले २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनाएको थियो।

लाइफ केयरको लागि दिपक पुनियाले शतकीय योगदान दिए । प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा उनले ५८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । ओपनर दिपांशु फोरेले ६५ तथा बिपुल कम्बोजले २९ रन बनाए । जावेद गोहरका बलर मोहम्मद इस्तियाकले ४ विकेट तथा रिशिभ जोशीले १ विकेट लिए ।

दोश्रो सेमीफाइनलमा स्थानीय टिम नेक्सस रुपन्देही एघारले बंगलादेशको साइक क्रिकेटर्सलाई साइक क्रिकेटर्सले दिएको ८९ रनको लक्ष्य नेपाली टिमले ११.५ ओभरमै पुरा गर्‍यो ।

नेक्सस रुपन्देहीको लागि ओपनर शंकर रानाले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यसअघि टस हारेर ब्याटिंग गरेको साइक क्रिकेटर्सले १८.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो । साइक क्रिकेटर्सको ब्याटिंगमा एकेएसले सर्वाधिक २७ रन बनाए ।

नेक्सस रुपन्देहीको बलिंगमा बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। दिपेश कंडेल र शाहब आलमले २/२ विकेट तथा दुर्गेश गुप्त र दिनेश अधिकारीले १/१ विकेट लिए।
नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका क्लब टिमहरुको सहभगिता थियो ।

प्रतियोगिताको विजेताले ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १८:०८

तपाईको प्रतिक्रिया !