धनुषा रेडक्रसको कार्यसमिति विघटन, पंकजकुमार महतोको नेतृत्वमा तदर्थ समिति गठन

धनुषा रेडक्रसको कार्यसमिति विघटन, पंकजकुमार महतोको नेतृत्वमा तदर्थ समिति गठन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १२, मंगलवार १८:१०
धनुषा रेडक्रसको कार्यसमिति विघटन, पंकजकुमार महतोको नेतृत्वमा तदर्थ समिति गठन

जनकपुरधाम : नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको कार्यसमिति विघटन गरी पंकजकुमार महतोको सभापतित्वमा नयाँ तदर्थ समिति गठन गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले धनुषा जिल्ला शाखालाई पठाएको पत्रअनुसार नरेशकुमार सिंहको सभापतित्वमा रहेको जिल्ला शाखा कार्यसमिति विघटन गरिएको हो।

ADVERTISEMENT

केन्द्रीय तदर्थ समितिको साउन ४ गते बसेको बैठकले नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधनसहित) को परिच्छेद ५ को दफा २४ (ख) बमोजिम धनुषा जिल्ला शाखा कार्यसमिति विघटन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

विघटित कार्यसमितिको स्थानमा जनकपुरधाम उपमहानगरपालिका–१० निवासी पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

नवगठित तदर्थ समितिको मन्त्रीमा इन्जिनियर बिमल पूर्वे, कोषाध्यक्षमा श्री शितलकुमार सिंह रहेका छन्। सदस्यहरूमा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार झा, शान्ति विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सदा (मुसहर) रहेका छन्।

केन्द्रीय कार्यालयले नवगठित तदर्थ समितिलाई जिल्ला शाखाको सम्पूर्ण वित्तीय अवस्था, बैंक हिसाब, सम्पत्ति तथा दायित्वको परीक्षण गरी आवश्यक कार्ययोजनासहितको प्रतिवेदन ३० दिनभित्र केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन दिएको छ।

त्यस्तै, समितिलाई सदस्यता अद्यावधिक गर्ने, संस्थागत सुदृढीकरण गर्ने तथा अन्य सांगठनिक कार्ययोजना तर्जुमा गरी विद्यमान विधानमा व्यवस्था भएबमोजिम निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्न भनिएको छ।

तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीको वर्तमान केन्द्रीय तदर्थ समितिको रोडम्याप कार्यान्वयनमा समन्वय र सहयोग गर्नुपर्नेछ। केन्द्रीय कार्यालयबाट तोकिएका कार्यक्रम कार्यसम्पादन गरी समयमै त्यसको प्रतिवेदनसमेत उपलब्ध गराउन निर्देशन दिइएको छ।

केन्द्रीय तदर्थ समितिले रेडक्रसका मूल्य, मान्यता र आदर्शअनुसार काम गर्न नवगठित तदर्थ समितिलाई आग्रह गरेको छ।

समितिको पत्रमा जिल्ला प्रशासन कार्यालय धनुषा तथा जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थालाई समेत बोधार्थ दिइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार १८:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !