सुनसरीको गोलीकाण्डको असर विराटनगरसम्म, सुरक्षा जोखिमका कारण विद्यालय बन्द

सुनसरीको गोलीकाण्डको असर विराटनगरसम्म, सुरक्षा जोखिमका कारण विद्यालय बन्द
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १२, मंगलवार १५:५१
सुनसरीको गोलीकाण्डको असर विराटनगरसम्म, सुरक्षा जोखिमका कारण विद्यालय बन्द

विराटनगर: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव मोरङको विराटनगरसम्म पुगेको छ। सुरक्षा जोखिम र आन्दोलनका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजमा पठनपाठन प्रभावित भएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली चलाउँदा एक स्थानीयको मृत्यु भएको थियो। उक्त घटनामा अन्य नौ जना घाइते भएका छन्। घटनापछि स्थानीय क्षेत्रमा प्रदर्शन र विरोधका कार्यक्रम जारी छन्।

ADVERTISEMENT

घटनाको विरोधमा सोमबार विराटनगरमा पनि प्रदर्शन भएको थियो। त्यसको निरन्तरतास्वरूप मंगलबार सुरक्षा अवस्था संवेदनशील बनेपछि विराटनगरका अधिकांश शैक्षिक संस्थाले पठनपाठन स्थगित गरेका छन्।

यद्यपि विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय भने गरेको छैन। महानगरको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालयहरू आफैंले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन्।

“महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय गरेको छैन। तर स्कुल बस सञ्चालनमा अवरोध हुने र सुरक्षा जोखिम बढ्ने सूचना आएपछि अधिकांश विद्यालय र कलेज खुलेनन्,” ढुंगेलले बताए।

उता, घटनाको प्रत्यक्ष प्रभाव परेको सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकाले भने शोकको रूपमा मंगलबार सार्वजनिक बिदा दिएका छन्। ती दुवै स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकाय बन्द रहेका छन्।

प्रदर्शन र तनावका कारण सुनसरीको दक्षिणी भेगका अधिकांश विद्यालयहरू पनि बन्द भएका छन्। स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना रोक्न संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। गोलीकाण्डको घटनाबारे अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने जनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार १५:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !