मधेशी सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, १४० परिवार लाभान्वित

मधेशी सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, १४० परिवार लाभान्वित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १८:२३
मधेशी सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, १४० परिवार लाभान्वित

जनकपुरधाम : जनमत पार्टी नेतृत्वका मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा थालेपछि हालसम्म १४० परिवार लाभान्वित भएका छन्।

प्रतिष्ठानका अध्यक्ष इन्जिनियर शुभम् यादवका अनुसार मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत प्राप्त गरेका परिवारलाई प्रमाणका आधारमा स्वास्थ्य बीमा गरिएको हो।

ADVERTISEMENT

यसअघि पनि मधेश आन्दोलनका क्रममा सहादत दिएका परिवारका पाँच सदस्यसम्मको निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था गरिएको थियो। बीमा भएपछि सहिद परिवारका सदस्यलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ।

यादवका अनुसार प्रदेशमा माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही पक्ष दुबैबाट गरी १ हजार ६ जनाको मृत्यु भएको थियो। त्यस्तै मधेश आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका १६४ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य समेत प्रतिष्ठानले लिएको छ।

प्रदेश सरकारले २०८०/८१ आर्थिक वर्षदेखि सहिद प्रतिष्ठानमार्फत यो कार्यक्रम अगाडि बढाएको हो। सहिद परिवारका पाँच सदस्यसम्मको बीमाका लागि सरकार स्वयंले ३ हजार ५ सय रुपैयाँ एकमुष्ट रूपमा बीमा कम्पनीलाई बुझाउने व्यवस्था गरिएको छ। तर, परिवारमा पाँच जनाभन्दा बढी भएमा अतिरिक्त सदस्यको बीमा रकम परिवारले आफैं तिर्नुपर्ने उल्लेख छ।

बीमाबाट उपचार सहज भएको उदाहरणसमेत देखिन थालेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत मिना पौडेलले स्वास्थ्य बीमाका कारण आँखाको उपचारमा सहजता पाएको अनुभव सुनाइन्। आर्थिक रूपमा कमजोर भएकी उनले बीमाका कारण ठूलो राहत पुगेको बताइन्।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !