सिरहामा हातहतियारसहित तीन भारतीय नागरिक पक्राउ

सिरहामा हातहतियारसहित तीन भारतीय नागरिक पक्राउ
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ श्रावण २२, बिहीबार ०९:२७
सिरहामा हातहतियारसहित तीन भारतीय नागरिक पक्राउ

सिरहा : सिरहाको नरहा गाउँपालिका–३, खोरियाटोलस्थित मिर्चैया–चोहर्बा सडकखण्डमा हातहतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतबाट गोलबजारतर्फ जाँदै गरेको BR 32 AW 1812 नम्बरको मोटरसाइकललाई मिर्चैया इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो करिब ४ बजे रोकेर चेकजाँच गर्दा ती युवकहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका तीनै जना भारतको मधुबनी जिल्लास्थित बेल्हीपूर्वी पञ्चायत–३, झौली टोलका बासिन्दा हुन्। उनीहरूमा १९ वर्षीय ऋषि नाथ मण्डल (मोटरसाइकल चालक), २० वर्षीय ओम शंकर यादव (बीचमा सवार) र १९ वर्षीय आकाश कुमार मण्डल (पछाडि सवार) रहेका छन्।

प्रहरीका अनुसार विशेष गरी आकाश मण्डलले उक्त पेस्तोल आफ्नो कम्मरमा लुकाएर राखेको अवस्थामा फेला परेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि मिर्चैया इलाका प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूलाई मिति २०८२ साउन २१ गते जिल्ला अदालत सिरहामा पेश गरिएकोमा अदालतबाट तीन दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले बुधबार थप अनुसन्धानका लागि जिल्ला अदालत सिरहाबाट तीन दिनको म्याद थप गरी थुनामा राखिएको जानकारी दिए।

सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि बढ्दै गएको भन्दै प्रहरीले हातहतियार तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी र चेकजाँच अभियान कडाईका साथ अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार ०९:२७
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !