स्कुटर आफैं चलाएर मासु पसलको अनुगमनमा पुगिन् मन्त्री चौधरी

स्कुटर आफैं चलाएर मासु पसलको अनुगमनमा पुगिन् मन्त्री चौधरी
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १०, बिहीबार १३:१४
स्कुटर आफैं चलाएर मासु पसलको अनुगमनमा पुगिन् मन्त्री चौधरी

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंका विभिन्न मासु कोल्ड स्टोरेजमा छड्के अनुगमनमा निस्किएकी छन्।

मन्त्री चौधरी ललितपुरस्थित जावलाखेलको क्वाटरबाट आफैं स्कुटर चलाएर अनुगमनमा पुगेकी थिइन्। स्कुटरको पछाडि उनका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) बसेका थिए।

उनले काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेकी हुन्। उनको सचिवालय सदस्य सरिता चौधरीले अनुगमनबारे जानकारी दिएकी छन्।

ADVERTISEMENT

मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरी अनुगमनमा पुगेको सचिवालयले जनाएको छ।

उक्त ऐन मंसिर १ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा औपचारिक रूपमा लागू गरिएको हो। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले उपत्यकाबाट ऐन कार्यान्वयनमा ल्याएको हो।

छड्के अनुगमनका क्रममा मन्त्री चौधरीले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको निरीक्षण गरेकी थिइन्।

सचिवालयले जारी गरेको प्रेस नोटअनुसार मन्त्री चौधरीले उपभोक्ताको स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना अनिवार्य रहेकोमा जोड दिएकी छन्।

प्रकाशित मिति: २०८३ मंसिर १०, बिहीबार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !