इपीजी प्रतिवेदनबारे भारतीय विदेश सचिवको टिप्पणीले तरंग, नेपालको मौनतामाथि प्रश्न

इपीजी प्रतिवेदनबारे भारतीय विदेश सचिवको टिप्पणीले तरंग, नेपालको मौनतामाथि प्रश्न
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १०, बिहीबार १३:३०
इपीजी प्रतिवेदनबारे भारतीय विदेश सचिवको टिप्पणीले तरंग, नेपालको मौनतामाथि प्रश्न

काठमाडौं : नेपाल–भारत सम्बन्धका दीर्घकालीन मुद्दा सम्बोधन गर्न तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदनबारे भारतीय विदेश सचिव विक्रम मिश्रीले दिएको पछिल्लो अभिव्यक्तिले नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा बहस चर्काएको छ।

प्रधानमन्त्री बालेन शाहको दुईदिने भारत भ्रमण सम्पन्न भएको केही समयपछि भारतीय विदेश सचिव मिश्रीले इपीजी प्रतिवेदन पुरानो भइसकेको र अहिले त्यसको सान्दर्भिकता नरहेको आशय व्यक्त गरेपछि नेपालमा यस विषयले चर्चा पाएको हो। तर, भारतीय पक्षको यस्तो टिप्पणीप्रति नेपाल सरकारले अहिलेसम्म आधिकारिक र स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा अन्य राजनीतिक दलसँग पर्याप्त परामर्श नगरेको भन्दै सरकारको आलोचना गरेको थियो। तर, भ्रमण सम्पन्न भएपछि पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रमुख दलले इपीजी प्रतिवेदनबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

ADVERTISEMENT

इपीजी प्रतिवेदनलाई भारतले बेवास्ता गर्न खोजेको संकेत देखिँदा समेत नेपाल सरकार मौन रहनुले राष्ट्रिय हित र कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठाएको छ। विशेषगरी सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्रीसन्धिको पुनरावलोकन र दुई देशबीचका अन्य असमानतासम्बन्धी विषयमा सरकारले स्पष्ट अडान राख्नुपर्ने आवाज उठ्न थालेको छ।

के हो इपीजी प्रतिवेदन?

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल र भारतका विज्ञहरू सम्मिलित प्रबुद्ध व्यक्ति समूह गठन गरिएको थियो। दुवै देशबीचको सम्बन्धलाई समयानुकूल र थप सुदृढ बनाउने उद्देश्यले गठन भएको उक्त समूहलाई द्विपक्षीय सम्बन्धका विभिन्न पक्ष अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो।

समूहले सन् २०१८ मा आफ्नो साझा प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा सन् १९५० को शान्ति तथा मैत्रीसन्धिसहित नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष पुनरावलोकन गर्न सुझाव दिइएको थियो। तर, प्रतिवेदन तयार भएको वर्षौं बितिसक्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई औपचारिक रूपमा बुझ्न नसक्दा यसको कार्यान्वयन अन्योलमा परेको छ।

सीमा व्यवस्थापनदेखि सन्धि पुनरावलोकनसम्मका सुझाव

इपीजी प्रतिवेदनमा नेपाल–भारत खुला सीमालाई व्यवस्थित र नियमन गर्ने विषयलाई महत्त्व दिइएको छ। सीमा वारपार गर्ने नागरिकले परिचयपत्र देखाउने तथा निश्चित नाकाबाट आवतजावत गर्ने व्यवस्थासहितका सुझाव प्रतिवेदनमा समेटिएको बताइन्छ।

त्यस्तै, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवादलाई कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने विषय पनि प्रतिवेदनमा उठाइएको छ।

नेपालको पारवहन अधिकार सुनिश्चित गर्दै भारतको विशाखापटनमलगायतका बन्दरगाह र आन्तरिक जलमार्गमा सहज पहुँच उपलब्ध गराउने विषयलाई समेत प्राथमिकता दिइएको छ। यसका अतिरिक्त महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर परियोजना तथा अन्य जलविद्युत् र सिँचाइ आयोजनालाई दुवै देशको हितअनुकूल अघि बढाउनुपर्ने सुझाव पनि समेटिएका छन्।

भारतीय टिप्पणीपछि नेपालको कूटनीतिक अडानमाथि प्रश्न

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिश्रीले इपीजी प्रतिवेदनलाई विगतको विषय भन्दै अहिले त्यसको सान्दर्भिकता नरहेको आशय व्यक्त गरेपछि नेपालमा विभिन्न प्रश्न उठेका छन्।

भारतको यस्तो अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धका जटिल तथा लामो समयदेखि थाती रहेका विषयबाट पन्छिन खोजेको संकेतका रूपमा कतिपयले व्याख्या गरेका छन्।

यद्यपि, नेपालका प्रमुख राजनीतिक दल र सरकारका तर्फबाट यसबारे स्पष्ट धारणा नआउँदा विषय थप पेचिलो बनेको छ। राष्ट्रिय सार्वभौमिकता, सीमा समस्या र द्विपक्षीय सन्धि–सम्झौताजस्ता विषयमा प्रधानमन्त्री तहबाटै स्पष्ट अडान प्रस्तुत हुनुपर्ने मागसमेत उठिरहेको छ।

नेपाल–भारत सम्बन्ध केवल राजनीतिक भेटघाट र उच्चस्तरीय भ्रमणमा सीमित नरही दशकौँदेखि थाती रहेका समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने कूटनीतिक क्षेत्रका जानकारहरूको जोड छ।

वर्षौँको अध्ययन र छलफलपछि तयार पारिएको इपीजी प्रतिवेदनको भविष्य अन्योलमा रहँदा सरकारले आफ्नो राष्ट्रिय हितअनुकूलको कूटनीतिक अडान स्पष्ट पार्न नसक्नुले नेपालको कूटनीतिक प्रभावकारितामाथि नै प्रश्न खडा गरेको छ।

प्रकाशित मिति: २०८३ मंसिर १०, बिहीबार १३:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !