१० देखि १२ लाख खर्चेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलनमा, सम्झौताअनुसार काम र तलब नपाएको गुनासो

१० देखि १२ लाख खर्चेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलनमा, सम्झौताअनुसार काम र तलब नपाएको गुनासो
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार ११:२१
१० देखि १२ लाख खर्चेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलनमा, सम्झौताअनुसार काम र तलब नपाएको गुनासो

काठमाडौं : वैदेशिक रोजगारीका लागि लाखौँ रुपैयाँ खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत नेपाली श्रमिकले सम्झौताअनुसार काम, तलब तथा सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन्।

कम्पनीमा कार्यरत करिब ६ सय श्रमिक आन्दोलनमा उत्रिएको जनाइएको छ। उनीहरू कम्पनी परिसरबाहिर भेला भएर ‘वी वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन्। रोजगारीका लागि रोमानिया पुग्न आफूहरूले प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको श्रमिकहरूको भनाइ छ।

ठूलो रकम खर्च गरेर युरोप पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत समस्या भएको उनीहरूले बताएका छन्। एक श्रमिकका अनुसार कम्पनीले महिनामा मुस्किलले दुईदेखि तीन दिन मात्रै काम दिने गरेको छ।

ADVERTISEMENT

‘१२ लाख रुपैयाँ तिरेर आएको हो, तर एक महिनामा दुई–तीन दिन मात्रै ड्युटी दिन्छन्। बाँकी २७–२८ दिन बिदामा बस्नुपर्छ,’ एक श्रमिकले गुनासो गर्दै भने, ‘कम्पनीमा काम पाइन्छ भनेर आएका थियौँ, तर यहाँ आएपछि सम्झौताअनुसार काम र तलब दुवै पाएनौँ।’

श्रमिकहरूको अर्को मुख्य असन्तुष्टि सम्झौतामा उल्लेख भएको पारिश्रमिक र वास्तविक भुक्तानीबीचको अन्तर हो। नेपालबाट रोमानिया जानुअघि गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख भए पनि सोहीअनुसार पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ। त्यसमाथि आवास खर्चका नाममा रकम कटौती हुन थालेपछि असन्तुष्टि थप चुलिएको हो।

आर्थिक मन्दी र जाडोका कारण काम घटेको कम्पनीको दाबी

रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतमका अनुसार बिसार लजिस्टिक एसआरएलमा नेपालीसहित ६ सयदेखि ७ सय जनासम्म श्रमिक कार्यरत छन्। तीमध्ये करिब ४ सय नेपाली रहेको उनको भनाइ छ।

उनका अनुसार पछिल्लो समय रोमानियाको आर्थिक गतिविधि सुस्ताउनु, कर वृद्धि हुनु र जाडो मौसम सुरु भएसँगै कामको मात्रा घटेकाले कम्पनीले श्रमिकको ड्युटी आवर कम गरेको हो।

गौतमका अनुसार कम्पनीले यसअघि निःशुल्क आवास सुविधा उपलब्ध गराउँदै आएको थियो। तर, पछिल्लो समय आवास खर्चका नाममा रकम कटौती गर्न थालेपछि श्रमिकको हातमा आउने पारिश्रमिक घटेको हो।

‘तीन–चार सय ल्यु आवास खर्च कटाउँदा महिनामा ९–१० हजार रुपैयाँसम्म कम हुने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्,’ उनले भने।

उनका अनुसार रोमानियामा कर कट्टीपछि आवास, बिजुली तथा अन्य खर्चसमेत तिर्नुपर्ने हुँदा श्रमिकको हातमा आउने रकम निकै कम हुने गरेको छ।

ठूलो कम्पनी भएकाले कर्मचारीको तलब विवरण सरकारी कर कार्यालयमा बुझाउनुपर्ने र भुक्तानीको अभिलेखसमेत राखिने भएकाले तलब नै नदिने अवस्था नरहेको गौतमको दाबी छ।

रोमानियामा ७५ हजारभन्दा बढी नेपाली रहेको अनुमान

गौतमका अनुसार पछिल्लो समय रोमानियामा नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा बढेको छ। हाल त्यहाँ ७५ हजारदेखि ८० हजारसम्म नेपाली रहेको अनुमान गरिए पनि सरकारी अभिलेखमा करिब ५० देखि ५५ हजारको विवरण मात्रै रहेको उनको भनाइ छ।

युरोपेली मुलुकमा रोजगारीको आकर्षण बढेसँगै नेपालबाट रोमानिया जाने क्रम बढेको छ। तर, त्यहाँ पुगेपछि पर्याप्त काम नपाउने, सम्झौताअनुसार सुविधा नपाउने र ऋणको बोझका कारण नेपाली श्रमिक समस्यामा पर्ने गरेका छन्।

‘एजेन्ट र म्यानपावरले राम्रो अवसर छ भनेर पठाउँछन्, तर यहाँ आएपछि अवस्था फरक हुन्छ,’ गौतमले भने, ‘१० लाख रुपैयाँ खर्च गरेर आउनेले महिनामा ६ सय युरो कमाउँदा पनि ऋण तिर्न र खर्च धान्न मुस्किल हुन्छ।’

उनका अनुसार कतिपय रोजगारदाता कम्पनीले नेपाली श्रमिकबाट स्थानीय कामदारको तुलनामा बढी समय काम गर्ने अपेक्षा राख्ने गरेका छन्। विदेशी श्रमिकले कागजी प्रक्रिया तथा रोजगारीसँग सम्बन्धित अन्य जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएकाले उनीहरू थप जोखिममा पर्ने गरेका छन्।

रोमानियामा नेपाली दूतावास स्थापना गर्न माग

रोमानियामा नेपाली श्रमिकको संख्या बढ्दै गए पनि उनीहरूको समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक संयन्त्र नभएको भन्दै गौतमले त्यहाँ नेपालको आधिकारिक कन्सुलर वा दूतावास स्थापना गर्न माग गरेका छन्।

हाल रोमानियासम्बन्धी कूटनीतिक सेवा जर्मनीस्थित नेपाली दूतावासमार्फत सञ्चालन हुँदै आएको छ। तर, समस्या पर्दा सम्बन्धित निकायबाट प्रभावकारी सहयोग पाउन कठिन हुने गरेको उनको गुनासो छ।

‘यहाँ नेपालीको संख्या धेरै छ, तर समस्या पर्दा सम्पर्क गर्ने आधिकारिक निकाय छैन,’ उनले भने, ‘कसैको मृत्यु हुँदा शव नेपाल पठाउनसमेत चन्दा उठाउनुपर्ने अवस्था छ। श्रम गरेर विदेश आएका नेपालीले समस्या पर्दा राज्यबाट सहयोग पाउनुपर्छ।’

रोमानियामा नेपाली श्रमिकको संख्या बढेसँगै मृत्यु, बेपत्ता हुने, आत्महत्या तथा अन्य समस्याका घटना पनि सार्वजनिक भइरहेका छन्। यस्ता घटनामा समयमै सहजीकरण र सहयोग गर्न नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

यसैबीच, रोमानियामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले आन्दोलनरत श्रमिकका माग सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले प्रभावित श्रमिकको समस्याबारे निष्पक्ष छानबिन गरी श्रमिकको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

समस्यामा परेका श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्। साथै, जर्मनीस्थित नेपाली दूतावासलाई कम्पनी र प्रभावित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्था बुझ्न तथा समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

यता, बर्लिनस्थित नेपाली दूतावासले भने रोमानियामा नेपाली श्रमिक आन्दोलनमा उत्रिएको र उनीहरूले भोगिरहेका समस्याबारे आफूहरूलाई जानकारी नभएको जनाएको छ।

लाखौँ रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या नयाँ होइन। रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीका प्रतिबद्धता, रोजगारदातासँग गरिएको सम्झौता र गन्तव्य मुलुकमा श्रमिकले पाउने वास्तविक सुविधाबीचको अन्तरलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार ११:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !