स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा लैजाने तयारी, सबै नागरिकलाई बीमामा समेट्ने प्रस्ताव

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा लैजाने तयारी, सबै नागरिकलाई बीमामा समेट्ने प्रस्ताव
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १०, बिहीबार १३:२६
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा लैजाने तयारी, सबै नागरिकलाई बीमामा समेट्ने प्रस्ताव

काठमाडौं : राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र आर्थिक रूपमा दिगो बनाउने उद्देश्यसहित सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक गृहकार्य पूरा गरी संशोधन विधेयकको मस्यौदा तयार पारेको छ। उक्त मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको र कानुनी प्रक्रिया पूरा भएपछि छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

यसै विषयमा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग चरणबद्ध परामर्श गरिएको थियो।

ADVERTISEMENT

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमाको योगदान संकलन तथा उपचार सेवा भुक्तानी प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

मस्यौदाअनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र सर्वसाधारण नागरिकलाई अनिवार्य रूपमा स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रस्ताव गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा बीमा योगदान गर्न नसक्ने विपन्न नागरिकको उपचार खर्च भने राज्यले नै व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध हुँदै आएका स्वास्थ्य उपचार सुविधाबीच समन्वय र एकीकरण गर्ने योजना पनि अघि सारिएको छ।

विधेयकमा स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने, बीमामा आबद्ध स्वास्थ्य संस्थाको संख्या तथा दायरा विस्तार गर्ने र अस्पतालहरूबाट हुने अनावश्यक परीक्षण तथा अनुचित दाबी भुक्तानीलाई नियन्त्रण गर्ने प्रावधानसमेत समेटिएका छन्।

मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षाको सुनिश्चिततासँग जोड्ने लक्ष्य राखेको छ।

आर्थिक अभावका कारण कुनै पनि नागरिक आधारभूत तथा गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कानुनी तथा नीतिगत सुधार अघि बढाइएको मन्त्री मेहताले बताएकी छन्।

प्रकाशित मिति: २०८३ मंसिर १०, बिहीबार १३:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !