छठको रौनक : काठमाडौं उपत्यकाका १७ स्थानमा घाट निर्माण र सरसफाइ तीव्र

छठको रौनक : काठमाडौं उपत्यकाका १७ स्थानमा घाट निर्माण र सरसफाइ तीव्र
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १३:१४
छठको रौनक : काठमाडौं उपत्यकाका १७ स्थानमा घाट निर्माण र सरसफाइ तीव्र

काठमाडौं: छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ। पछिल्ला वर्षमा उपत्यकामा छठ मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष पनि १७ स्थानमा पर्वको तयारी भइरहेको छ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पूजा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण तथा सरसफाइ भइरहेको छ।

ADVERTISEMENT

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सफा गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए।

‘काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दो छ। हामीले यसको तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ। पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ,’ अध्यक्ष सिंहले भने, ‘अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्त्व अपरम्पार छ। भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ। व्रतालुलाई सहज हुने वातावरण तयार पार्न हामी जुटेका छौँ।’

काठमाडौं उपत्यकामा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा छठ पूजा गर्ने गरिएको छ।

काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ। बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि घाट निर्माण तथा व्यवस्थापन हुँदै आएको छ।

छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !