छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन जन अधिकार पार्टीको माग

छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन जन अधिकार पार्टीको माग
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २४, मंगलवार १९:०२
छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन जन अधिकार पार्टीको माग

काठमाडौँ : जन अधिकार पार्टीले छठ पर्वका अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ।

छठ पर्वलाई नेपालको राष्ट्रिय पर्वका रूपमा औपचारिक घोषणा गरी राष्ट्रिय मान्यता प्रदान गर्न पनि पार्टीले माग गरेको छ।

ADVERTISEMENT

पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरदसिंह यादवले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारसमक्ष चारबुँदे माग अघि सारेका हुन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै पार्टीले छठ पर्वलाई नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा व्याख्या गरेको छ।

विगतमा तराई–मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा समेत श्रद्धा, आस्था र उत्साहका साथ मनाउन थालिएको पार्टीको भनाइ छ।

सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, स्वच्छता, अनुशासन, सामाजिक सद्भाव, पारिवारिक एकता र समानताको सन्देश प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

छठ पर्वमा लाखौँ श्रद्धालु भक्तजन चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ सहभागी हुने भएकाले यसको महत्वलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिनुपर्ने पार्टीको माग छ।

पार्टीले छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिँदै यसको संरक्षण, प्रवर्द्धन र सम्मानका लागि आवश्यक नीतिगत व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलवार १९:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !