भीमफेदी इभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइते; चालकको सनाखत

भीमफेदी इभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइते; चालकको सनाखत
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १२:५०
भीमफेदी इभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइते; चालकको सनाखत

हेटौँडा: मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको भीषण इभी दुर्घटनामा ज्यान गुमाउने चालकको सनाखत भएको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय गाडी (इभी) बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा अनियन्त्रित भएर करिब ५०० मिटर तल खोँचमा खसेको थियो।

दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थलको भौगोलिक अवस्था अत्यन्तै विकट र जोखिमपूर्ण रहेको बताइएको छ। काठमाडौंबाट तराईका जिल्लाहरू जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको उक्त सडक साँघुरो, भिरालो तथा घुम्तीयुक्त छ।

गाडी गहिरो खोँचमा खसेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त टोलीले उद्धार कार्य गरेको थियो। टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव संकलन गरेको थियो।

दुर्घटनामा ज्यान गुमाएका अन्य व्यक्तिहरूको सनाखत गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले बताए।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १२:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !