सप्तरङ्गी टीकाका सात रङले दिन्छन् जीवनका सात सन्देश, यस्तो छ धार्मिक तथा सांस्कृतिक महत्त्व

सप्तरङ्गी टीकाका सात रङले दिन्छन् जीवनका सात सन्देश, यस्तो छ धार्मिक तथा सांस्कृतिक महत्त्व
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार ११:३३
सप्तरङ्गी टीकाका सात रङले दिन्छन् जीवनका सात सन्देश, यस्तो छ धार्मिक तथा सांस्कृतिक महत्त्व

काठमाडौं : भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीका केवल धार्मिक परम्परा मात्र होइन, जीवन, प्रकृति, शुद्धता र पारिवारिक सम्बन्धको प्रतीकसमेत हो। टीकामा प्रयोग हुने सात रङले पराक्रम, शक्ति, शान्ति, सात्त्विकता र सकारात्मक जीवनका विभिन्न सन्देश दिने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो। यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको हुन्छ।

ADVERTISEMENT

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ढकालले रातो रङलाई पराक्रम र शक्तिको प्रतीक तथा पहेँलो रङलाई सात्त्विकता, शान्ति र आनन्दको प्रतीकका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार सेतो रङले मनको शुद्धताको सन्देश दिन्छ। चामलको पिठोबाट बनाइने सेतो टीकाले मानिसको मन पनि स्वच्छ र शुद्ध हुनुपर्ने भाव व्यक्त गर्छ।

‘रातो भनेको पराक्रम र शक्तिको प्रतीक हो। पहेँलो भनेको सात्त्विकता र आनन्दसँग जोडिन्छ। सेतोमा केही मिसियो भने टक्क देखिहाल्छ नि, त्यस्तै मन पनि शुद्ध हुनुपर्छ भन्ने भावले हामी सेतो रङ प्रयोग गर्छौँ,’ उनले भने।

हरियो प्रकृतिको, निलो शान्तिको प्रतीक

ढकालका अनुसार हरियो रङ प्रकृतिको प्रतीक हो। मानिसको जीवन प्रकृतिसँग जोडिनुपर्ने र प्रकृतिलाई विकृत बनाउने काम गर्न नहुने सन्देश यसले दिन्छ।

‘हरियो भनेको प्रकृतिको प्रतीक हो। प्रकृतिसम्मत बन, प्रकृतिलाई विकृति बनाउने दुष्प्रयास नगर भन्ने त्यसको सङ्केत हो,’ उनले भने।

त्यस्तै, निलो रङलाई शान्तिको प्रतीकका रूपमा व्याख्या गरिएको छ। मानिस परिस्थितिअनुसार कहिले पराक्रमी र कहिले शान्त तथा संयमित हुनुपर्ने सन्देश यसले दिने ढकालको भनाइ छ।

उनका अनुसार सप्तरङ्गी टीकाले जीवनका विभिन्न परिस्थिति र मनका अवस्थालाई पनि प्रतिनिधित्व गर्छ।

‘सप्तरङ्गी भनेको प्रकृतिको सिम्बोल हो, इन्द्रेणीको सिम्बोल हो। मनको स्वभाव पनि कहिले साह्रै खुसी हुन्छ, कहिले दिक्क मान्छ, कहिले ठीकै हुन्छ। जीवनमा यस्ता अवसरहरू आइरहन सक्छन्। जस्तो अवस्था आए पनि पछि नहट, डटेर अगाडि बढ र सफल बन भन्ने भाव यसमा रहेको छ,’ उनले भने।

दाजुभाइ–दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने कामना

सप्तरङ्गी टीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामनासमेत व्यक्त गर्छ। आकाशमा सूर्य र चन्द्रमा रहुन्जेल आपसी सम्बन्ध कायम रहोस् र मानिस दयालु बनोस् भन्ने भाव भाइटीकासँग जोडिएको ढकालले बताएका छन्।

भाइटीकामा टीका लगाउनुअघि गरिने पूजाविधिको पनि आफ्नै शास्त्रीय महत्त्व रहेको उनले उल्लेख गरेका छन्। दीप, कलश, अष्टचिरञ्जीवी र ग्रहहरूको पूजा गरेपछि दाजुभाइ तथा दिदीबहिनीको पूजा गर्ने र श्रद्धापूर्वक उपहार अर्पण गर्ने परम्परा रहेको उनको भनाइ छ।

अष्टचिरञ्जीवीको पूजा गर्दा उनीहरूजस्तै दीर्घायु र चिरञ्जीवी बन्ने कामना गरिने उनले बताए।

‘अष्टचिरञ्जीवीहरू मार्कण्डेय, बलि, व्यासहरू जसरी चिरञ्जीवी बनेका छन्, त्यसैगरी तिमी पनि चिरञ्जीवी बन भन्ने भावले पूजा गरिन्छ। यो सम्पूर्ण विधि शास्त्रसम्मत छ, यहाँ कुनै मनगढन्ते कुरा हुँदैन,’ उनले भने।

यमपञ्चकले सिकाउँछ दैनिक जीवनका सकारात्मक व्यवहार

ढकालले यमपञ्चकका धार्मिक तथा आध्यात्मिक पक्षलाई दैनिक जीवनसँग जोडेर बुझ्नुपर्ने बताएका छन्। उनका अनुसार कागबाट चेतनशीलता, कुकुरबाट बफादारिता र लक्ष्मीपूजाबाट सरसफाइ तथा उज्यालोको महत्त्व सिक्न सकिन्छ।

‘लक्ष्मीपूजाको दिन मात्रै घर उज्यालो, झिलिमिली र सफासुग्घर बनाएर हुँदैन। हरेक दिन, हरेक क्षण लक्ष्मीपूजाजस्तै बनाऊ न, तब पो मन आनन्दित भयो त,’ उनले भने।

यमपञ्चकले मानिसलाई धार्मिक आस्थासँगै दैनिक जीवनमा सकारात्मक व्यवहार अपनाउन पनि प्रेरित गर्ने ढकालको भनाइ छ।

सप्तरङ्गी टीका केवल रङ लगाउने धार्मिक विधि नभई प्रकृतिको सम्मान, मनको शुद्धता, शान्ति, पराक्रम र पारिवारिक सम्बन्धको निरन्तरताको कामना गर्ने सांस्कृतिक परम्परा हो। भाइटीकाको यस परम्पराले दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता कायम राख्ने सन्देशसमेत दिन्छ।

(नेपाल न्यूज बैंकको सहयोगमा)

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार ११:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !