जलवायु वित्तमा तथ्यांक र निर्णयबीचको दूरी हटाउन कोप–३१ मा अर्थमन्त्री वाग्लेको आह्वान

जलवायु वित्तमा तथ्यांक र निर्णयबीचको दूरी हटाउन कोप–३१ मा अर्थमन्त्री वाग्लेको आह्वान
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार ११:०६
जलवायु वित्तमा तथ्यांक र निर्णयबीचको दूरी हटाउन कोप–३१ मा अर्थमन्त्री वाग्लेको आह्वान

टर्किए : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु तथा मौसमसम्बन्धी तथ्यांक र वित्तीय निर्णयबीचको अन्तर हटाउन विश्व समुदायसँग आह्वान गरेका छन्। उनले जलवायु जोखिमको वास्तविक पहिचान र प्रभावकारी वित्तीय व्यवस्थापनका लागि वर्षासँगै पहाडको अवस्था मापन गर्ने प्रणाली आवश्यक रहेको बताएका छन्।

टर्किएको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।

ADVERTISEMENT

युएनएफसीसीसी प्याभिलियनमा आयोजित ‘सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी’ कार्यक्रममा उनले मौसम तथा जलवायु तथ्यांकको अन्तर घटाउनुपर्नेमा जोड दिए।

सम्बोधनका क्रममा उनले नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्किएर लेदोसहितको बाढी आएको घटनालाई स्मरण गराउँदै परम्परागत मापन यन्त्र र पूर्वसूचना प्रणालीको सीमितता औँल्याए।

उनले भने, ‘त्यसो भए एक जना अर्थमन्त्री यो मञ्चमा किन छ? यस वर्ष अगस्ट २६ को बिहान नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्कियो र लेदोसहितको बाढीमा परिणत भयो। त्यस बिहान नेपालसँग भएका हरेक उपकरण, अर्थात् हाम्रो ऋण सुविधाको ट्रिगर, हामीले किन्न सक्ने कुनै पनि बीमाका ट्रिगर र हाम्रो पूर्वसूचना शृङ्खलाका मापन यन्त्र, सबैले वर्षा र नदीको सतह पढ्थे। पानी परेन।’

नेपाल तथ्यांक नभएको देश नभई तथ्यांक र निर्णयबीचको अन्तर ठूलो रहेको उल्लेख गर्दै उनले अवलोकन प्रणालीलाई हरेक वित्तीय उपकरणको आधारका रूपमा व्याख्या गरे।

उनका अनुसार तथ्यांक नभए ट्रिगर हुँदैन, ट्रिगर नभए प्यारामेट्रिक बीमा सम्भव हुँदैन र बीमा नभए पूर्वव्यवस्थित वित्तको सट्टा महँगो ऋण मात्र बाँकी रहन्छ।

जलवायु जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला बनिसकेको उल्लेख गर्दै वाग्लेले अब नेपाल वैज्ञानिक पनि बन्ने कि नबन्ने भन्ने प्रश्न उठाए। उनले तापक्रम बढ्दै गएको विश्व अन्धकारमा उडिरहेको र त्यसको सबैभन्दा ठूलो भार थेग्न नसक्ने देशहरू नै बढी जोखिममा रहेको बताए।

आधारभूत तहमा लगानी गर्न र सहकार्यमा आवश्यक प्रणाली निर्माण गर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले यस मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र नभई पहाडको अवस्था पनि पढ्न सक्ने ट्रिगर हुनुपर्ने धारणा राखे।

नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाउन र अन्य कुनै पनि देशले त्यस्ता पाठ फेरि सिक्न नपर्ने अवस्था सिर्जना गर्न उनले विश्व समुदायसमक्ष आह्वान गरेका छन्।

 

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार ११:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !