ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर, आजीवन कैद हुन सक्ने

ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर, आजीवन कैद हुन सक्ने
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार ११:०२
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर, आजीवन कैद हुन सक्ने

काठमाडौं : अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार नोभेम्बर १०, २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको हो।

सीएनएनका अनुसार ममताको हत्या गरेको आरोप अस्वीकार गर्दै आएका भट्टलाई जुरीले दोषी ठहर गरेको छ। सन् २०२४ जुलाईमा मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी ममताको शव भने अहिलेसम्म फेला परेको छैन।

ADVERTISEMENT

करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएका थिए। दोषी ठहर भएसँगै भट्टलाई हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। उनको सजाय निर्धारणका लागि आगामी मार्च १२, २०२७ को मिति तोकिएको छ।

शव टुक्र्याएर फालेको स्वीकार, हत्या अस्वीकार

अदालतमा बयान दिने क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए।

एनबीसी वासिङ्टनका अनुसार भट्टले सन् २०२४ जुलाई ३० मा बिहान शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको बताएका थिए। उनलाई ब्युँताउने प्रयास गरेको तर सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो।

ममताले आत्महत्या गरेको हुन सक्ने दाबी गर्दै भट्टले आफूलाई दोषी ठहर गरिने डरले शव लुकाएको बताएका थिए। शव फोहोरको भाँडोमा नअटाएपछि आराले टुक्र्याएर विभिन्न झोलामा राखी फालेको उनले अदालतमा स्वीकार गरेका थिए।

तर सरकारी वकिलहरूले भट्टले नै ममताको हत्या गरी शव टुक्र्याएर उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको दाबी गरेका थिए। सरकारी पक्षले हत्या योजनाबद्ध रूपमा गरिएको तर्क गर्दै भट्टको बयानलाई विश्वास नगर्न जुरीसमक्ष आग्रह गरेको थियो।

आरामा ममताको डीएनए भेटिएको प्रमाण

सरकारी पक्षले भट्टविरुद्ध प्रमाणका रूपमा आरासहित विभिन्न सामग्रीमा भेटिएका रगतजस्ता दाग, कपाल, घरको कार्पेटमा भेटिएको डीएनए, निगरानी क्यामेराका दृश्य र मोबाइल फोनका विवरण प्रस्तुत गरेको थियो।

भट्टले सन् २०२४ जुनमा होम डिपोबाट विद्युतीय आरा किनेको निगरानी क्यामेराको दृश्य अदालतमा पेस गरिएको थियो। उक्त आरामा रातो-खैरो दाग र कपालजस्ता रेसा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका थिए।

सीएनएनका अनुसार आराको भित्री भागबाट लिइएका नमुनासहित केही नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाएको फरेन्सिक परीक्षणले देखाएको थियो। यस्तै, दम्पतीको शयनकक्षको कार्पेटमा भेटिएको दागमा ममता र उनकी छोरीको डीएनए रहेको बलियो आधार देखिएको फरेन्सिक विज्ञले अदालतमा बताएका थिए।

प्रतिरक्षा पक्षले भने डीएनए परीक्षणबाट मात्रै ती दाग कसरी लागेका थिए भन्ने पुष्टि नहुने तर्क गरेको थियो।

सरकारी पक्षले ममता बेपत्ता भएको समय आसपास भट्टले फोहोर फाल्ने झोला र सरसफाइका सामग्री किनेको दृश्य पनि प्रस्तुत गरेको थियो। उनको गाडी र मोबाइल फोनका विवरणबाट विभिन्न फोहोर सङ्कलन केन्द्रसम्म पुगेको देखिने दाबी गरिएको थियो।

परिवार र प्रहरीसँग झूट बोलेको स्वीकार

अदालतमा जिरहका क्रममा सरकारी वकिल म्याथ्यु स्वीटले भट्टलाई ममताका आफन्त, साथीभाइ, छिमेकी र प्रहरीसँग झूट बोलेको विषयमा प्रश्न गरेका थिए। भट्टले आफूले झूट बोलेको स्वीकार गरेका थिए।

ममताका दाजु महेश काफ्लेले पनि अदालतमा बयान दिएका थिए। उनले बहिनीले अनुहारमा चोट लागेको देखिने तस्बिर पठाएको र आफू असुरक्षित महसुस गरिरहेको बताएको जानकारी दिएका थिए। दम्पतीबीचको सम्बन्धमा तनाव रहेको विषयमा उनीहरूका साथीहरूले समेत अदालतमा बयान दिएका थिए।

प्रतिरक्षा पक्षकी वकिल ट्रेसी लेनोक्सले भने ममता वैवाहिक सम्बन्धमा खुसी नरहेको र परिवारबाट सम्बन्ध कायम राख्न दबाब परेको तर्क गरेकी थिइन्। उनले सरकारी पक्षले हत्याको अभियोग शङ्कारहित रूपमा पुष्टि गर्न नसकेको भन्दै जुरीलाई भट्टलाई दोषी नठहर्‍याउन आग्रह गरेकी थिइन्।

ममताको शव अझै बेपत्ता

नेपालकी नर्स ममता काफ्ले सन् २०२४ जुलाईमा बेपत्ता भएकी थिइन्। लगातार दुई दिन काममा नआएपछि उनको कार्यस्थलले प्रहरीलाई खबर गरेको थियो।

अनुसन्धानका क्रममा भट्टले सुरुमा ममता घर छाडेर गएको र न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए। तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले उनलाई अगस्ट २२, २०२४ मा पक्राउ गरेको थियो।

सुरुमा शव लुकाएको अभियोग लगाइएका भट्टमाथि पछि प्रथम श्रेणीको हत्या र शव विकृत बनाएको अभियोगसमेत थपिएको थियो।

अदालतमा शव टुक्र्याएर फालेको स्वीकार गरे पनि भट्टले ममताको शव कहाँ छ भन्ने खुलाएका छैनन्। शव फेला नपरेका कारण उनको मृत्युको चिकित्सकीय कारणसमेत स्थापित हुन सकेको छैन।

भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ। शव लुकाएको र विकृत बनाएको अभियोगमा पनि छुट्टाछुट्टै सजाय हुन सक्नेछ। भट्टको सजाय निर्धारण आगामी मार्च १२, २०२७ मा हुनेछ।

(अमेरिकी सञ्चारमाध्यमहरूको सहयोगमा)

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार ११:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !