भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइयो ३० लाख, गौरको व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख बरामद

भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइयो ३० लाख, गौरको व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख बरामद
अभिमनु पटेल अभिमनु पटेल २०८३ कार्तिक १९, बिहीबार ८:०१
भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइयो ३० लाख, गौरको व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख बरामद

रौतहट : भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याउँदै गरेको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ।

रौतहट प्रहरीले स्रोत नखुलेको कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार कात्तिक १८ गते दिउँसो करिब साढे ३ बजे ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलिया आउने सडकखण्डमा नियमित जाँचका क्रममा उक्त रकम बरामद गरिएको हो।

प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल (म.प्र. ०५–००१ प ०५७८) रोकेर जाँच गर्दा चालक भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ निवासी ३० वर्षीय सनि कुमार जैसवालको साथबाट ३० लाख रुपैयाँ फेला पारेको थियो।

प्रहरीका अनुसार जैसवालले झोलामा र मोटरसाइकलको इन्धन ट्याङ्कीमुनि गोप्य फल्स बटम बनाएर रकम लुकाएका थिए। प्रहरीले नगद, मोटरसाइकल र एक थान स्मार्टफोनसहित उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा गरिएको प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा खानतलासी गरेको थियो। खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रतिष्ठानका सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।

भारतबाट ल्याइएको ३० लाख र व्यापारिक प्रतिष्ठानबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँको स्रोत तथा कारोबारको प्रकृतिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहीबार ८:०१
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !