सिरहाको झाझपट्टीबाट १५२ किलोभन्दा बढी गाँजा बरामद

सिरहाको झाझपट्टीबाट १५२ किलोभन्दा बढी गाँजा बरामद
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १३, बिहीबार १०:५८
सिरहाको झाझपट्टीबाट १५२ किलोभन्दा बढी गाँजा बरामद

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा परिचालित टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त गाँजा फेला पारेको जनाएको छ।

ADVERTISEMENT

गस्तीका क्रममा नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा केही व्यक्तिले टाउकोमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको देखिएको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू नौ बोरा गाँजा त्यहीँ छाडेर फरार भएका थिए।

बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्लास्टिकसहित गाँजाको कुल तौल १५२ किलो १६० ग्राम रहेको छ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। फरार व्यक्तिहरूबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहीबार १०:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !