चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चिन्ताजनक : बाबुराम भट्टराई

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चिन्ताजनक : बाबुराम भट्टराई
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ११, मंगलवार १०:५२
चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चिन्ताजनक : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनादेश प्राप्त सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।

प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै आन्दोलन चर्काउने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। यस्तो प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि विडम्बनापूर्ण भएको उनको भनाइ छ।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा तथा सहकार्य दुवै आवश्यक हुने बताएका छन्। सरकारका कामकारबाहीको आलोचना, खबरदारी र मूल्याङ्कन निरन्तर हुनुपर्ने भए पनि जनादेश प्राप्त भएको केही समयमै सरकार ढाल्ने खेलमा लाग्नु उचित नहुने उनले उल्लेख गरेका छन्।

विगतमा बारम्बार सरकार परिवर्तन हुँदा मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेको स्मरण गराउँदै भट्टराईले राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर बनाउने, विकासमा अवरोध पुर्‍याउने र युवालाई रोजगारीको खोजीमा विदेशिन बाध्य पार्ने जोखिम औँल्याएका छन्।

यद्यपि, निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने भन्दैमा उसलाई निरङ्कुश बन्ने छुट नहुने उनको स्पष्ट धारणा छ। सरकारलाई जनताप्रति उत्तरदायी बनाउन नागरिकले निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिएका छन्।

विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा पछाडि पारिएका तथा गरिब र कमजोर वर्गका आवाज सरकारले प्राथमिकताका साथ सुन्नुपर्ने भट्टराईको भनाइ छ। सरकारले जनताका आधारभूत आवश्यकता बेवास्ता गरेमा वा मुलुकको हितविपरीत काम गरेमा संवैधानिक तथा कानुनी प्रक्रियाबाट सरकार परिवर्तन गर्न सकिने उनले बताएका छन्। त्यसका लागि अर्को निर्वाचन पनि लोकतान्त्रिक विकल्प हुने उनको धारणा छ।

राजनीतिक अस्थिरता र सरकार परिवर्तनको बहस चलिरहेका बेला भट्टराईको यो अभिव्यक्तिले सरकारको स्थायित्वसँगै जवाफदेहिता, सुशासन र संवैधानिक प्रक्रियाको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलवार १०:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !