पर्यटकीय सिजन भएकाले दसैँ मनाउने फुर्सद नै हुँदैन : रामप्रसाद सापकोटा

पर्यटकीय सिजन भएकाले दसैँ मनाउने फुर्सद नै हुँदैन : रामप्रसाद सापकोटा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार ११:५३
पर्यटकीय सिजन भएकाले दसैँ मनाउने फुर्सद नै हुँदैन : रामप्रसाद सापकोटा

काठमाडौं : हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँ परिवारसँग समय बिताउने, मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तसँग भेटघाट गरी रमाइलो गर्ने अवसर हो। तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दसैँ–तिहारको समय कामको चाप बढ्ने पर्यटकीय सिजन पनि हो।

मौसम अनुकूल हुने यस समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सदमा चाडपर्व मनाउन पाउँदैनन्। नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका पूर्वउपाध्यक्ष तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘कमल’ का लागि पनि दसैँको अनुभव अरूको भन्दा फरक छ।

ADVERTISEMENT

होटल, ट्रेकिङ तथा ट्राभल कम्पनी सञ्चालन गर्ने व्यवसायीले पर्यटकको व्यवस्थापन र सेवामा खटिनुपर्ने भएकाले चाडपर्वमा समेत कामलाई प्राथमिकता दिनुपर्ने सापकोटा बताउँछन्।

‘पर्यटकीय सिजन भएकाले हामीले दसैँमा पनि काम गर्नुपर्छ। मौसम राम्रो हुने समयमा पर्यटक अपरेसनमा लाग्नुपर्ने हुन्छ। अरू पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सद लिएर दसैँ मनाउन हामीले पाउँदैनौँ,’ उनले भने।

उनका अनुसार होटलका कर्मचारीसँग दसैँ मनाउने कार्यक्रम पहिल्यै आयोजना गरिए पनि मुख्य चाडका दिन व्यवसाय सञ्चालनमै ध्यान दिनुपर्ने हुन्छ। पर्यटकलाई सेवा दिनुपर्ने भएकाले आफूले पनि दसैँमा उपत्यका छाडेर बाहिर जान नसक्ने उनले बताए।

व्यवसायको व्यस्तताबीच समय मिलाएर टीका लगाउने, आफन्तसँग भेटघाट गर्ने र केही समय रमाइलो गर्ने गरे पनि लामो बिदा लिएर चाडपर्व मनाउन कठिन हुने उनको अनुभव छ।

अफसिजनमा परिवारलाई समय

पर्यटन व्यवसायीले परिवारसँग समय बिताउन र घुमफिर गर्न पर्यटकको चाप कम हुने समय रोज्ने गरेका छन्। सापकोटाका अनुसार जनवरी, फेब्रुअरी, जुन, जुलाई र अगस्टजस्ता महिनामा पर्यटकीय गतिविधि तुलनात्मक रूपमा कम हुने भएकाले त्यतिबेला परिवारलाई समय दिने तथा देशभित्र वा विदेशमा घुम्न जाने योजना बनाउन सकिन्छ।

उनका लागि चाडपर्वमा भन्दा व्यवसायको चाप कम हुने समयमा परिवारसँग रमाइलो गर्ने अवसर बढी हुन्छ। पर्यटकको सेवामा निरन्तर खटिनुपर्ने व्यवसायीका लागि समय व्यवस्थापन गर्नु पनि व्यावसायिक जीवनको महत्त्वपूर्ण पक्ष बनेको छ।

बाल्यकालको दसैँ र अहिलेको अनुभव फरक

सापकोटाको अनुभवमा व्यक्तिगत जीवन र आर्थिक अवस्थासँगै दसैँ मनाउने शैलीमा पनि परिवर्तन आएको छ। सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका उनका लागि बाल्यकालमा दसैँ भनेको नयाँ लुगा लगाउने, मासु खाने र पिङ खेलेर रमाइलो गर्ने विशेष अवसर थियो।

‘सानो हुँदा दसैँमा मासु खाने र नयाँ कपडा लगाउने कुराले धेरै खुसी दिन्थ्यो। बुबाले दसैँमा नयाँ कपडा किनिदिनुहुन्छ भनेर पर्खिन्थ्यौँ,’ उनले बाल्यकाल सम्झँदै भने।

तर अहिले व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुगेपछि दसैँका लागि छुट्टै लुगा किन्ने वा मासु खाने विषय त्यति प्राथमिकतामा नरहेको उनी बताउँछन्। वर्षभरि नै आवश्यकताअनुसार लुगा किन्ने र खानपिन गर्ने अवसर बढेकाले बाल्यकालको दसैँ र अहिलेको अनुभव फरक भएको उनको भनाइ छ।

उनका अनुसार यो परिवर्तन व्यक्तिगत जिम्मेवारीसँगै देशको विकास र जीवनस्तरमा आएको परिवर्तनसँग पनि जोडिएको छ। बाल्यकालमा आफ्नै इच्छाअनुसार रमाइलो गर्न पाइने भए पनि अहिले परिवार, व्यवसाय र संस्थागत जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले समय व्यवस्थापन गर्नुपर्छ।

चाडपर्वलाई पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्छ

सापकोटाले नेपाली चाडपर्वलाई पर्यटक आकर्षित गर्ने सम्भावनायुक्त पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपाल आउने पर्यटक हिमाल, प्राकृतिक दृश्य र ऐतिहासिक सम्पदा हेर्न मात्र नभई नेपाली समाज, संस्कृति, धर्म र परम्पराको अनुभव लिन पनि रुचाउँछन्।

‘पर्यटक आफैँ एउटा अवसर हो। हामीले नेपाली चाडपर्वलाई पनि पर्यटनको उत्पादनका रूपमा लिनुपर्छ,’ उनले भने, ‘दसैँमा टीका लगाउने, पूजाआजा गर्ने र हामीले चाडपर्व कसरी मनाउँछौँ भन्ने कुरा पर्यटकलाई देखाउन र बुझाउन सकिन्छ।’

नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति, मठमन्दिर, हिमाल र चाडपर्व पर्यटकका लागि आकर्षणका विषय भएको उनको भनाइ छ। पर्यटक कुनै ठाउँको अवलोकन गरेर मात्र नभई त्यहाँको जीवनशैली र संस्कृतिको अनुभव लिएर फर्कन चाहने भएकाले यस्ता गतिविधिले उनीहरूको भ्रमणलाई थप अर्थपूर्ण बनाउन सक्ने उनी बताउँछन्।

त्यसैले पर्यटन व्यवसायीले चाडपर्वका समयमा पर्यटकलाई नेपाली संस्कृतिसँग परिचित गराउने कार्यक्रम र गतिविधि विकास गर्नुपर्ने उनको सुझाव छ। यसले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको विश्वास छ।

सापकोटाले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै नेपाली चाडपर्वलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार ११:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !