चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १०:५७
चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।

ADVERTISEMENT

विज्ञप्तिमा चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता रहेको उल्लेख गर्दै रास्वपाले शुभकामना आदानप्रदानका क्रममा उपहार तथा नगद लेनदेनलाई निरुत्साहित गर्दै आएको जनाएको छ।

‘दसैँको आशीष, तिहारको भाइटीका र छठको अगाध आस्थाले बोक्ने साझा सन्देश निःस्वार्थ प्रेम र सद्भाव हो। चाडपर्वमा हुने भेटघाट र खुसी साटासाटको सुन्दरता पनि यही निःस्वार्थपनमा निहित छ,’ महामन्त्री आचार्यले विज्ञप्तिमा भनेका छन्।

उनका अनुसार पार्टीले स्थापनाकालदेखि नै शुभकामना आदानप्रदानका क्रममा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लिने–दिने कार्यलाई पूर्णतः निरुत्साहित गर्दै आएको छ। उनले उक्त मान्यतालाई निरन्तरता दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन्।

राजनीतिमा नागरिकको सद्भाव र विश्वास नै सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै आचार्यले नागरिकको विश्वासलाई नै राजनीतिक दलका लागि ठूलो उपहारका रूपमा व्याख्या गरेका छन्।

‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो,’ उनले भनेका छन्।

रास्वपाले मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १०:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !