विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौँ : प्रधानमन्त्री

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौँ : प्रधानमन्त्री
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १०:४९
विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्रीले बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको पीडा ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै प्रधानमन्त्रीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

ADVERTISEMENT

विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र उनीहरूको जीवनलाई पुनः सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र सद्भावको पर्वका रूपमा व्याख्या गरेका छन्। परिवार तथा आफन्तसँग भेटघाट गर्ने, ठूलाबडाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई थप मजबुत बनाउने उनको भनाइ छ।

दसैँलाई सत्यको विजय र असत्यको पराजयसँग जोड्दै प्रधानमन्त्रीले समाजमा विद्यमान खराब प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ।’

त्यस्तै, रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य नेपालीहरूको पीडालाई पनि प्रधानमन्त्रीले स्मरण गरेका छन्। चाडपर्वमा परिवारसँगै बसेर खुसी साट्न चाहँदाचाहँदै पनि घर फर्कन नसक्ने नेपालीको अवस्था परिवर्तन गर्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन्।

‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

आर्थिक सम्पन्नताले चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। विपद्बाट सिर्जित पीडालाई सम्बोधन गर्दै नागरिकको जीवनस्तर सुधार गर्नु सरकारको प्राथमिकता रहेको उनको सन्देश छ।

अन्त्यमा प्रधानमन्त्रीले सत्य, सुशासन र समृद्धिको मार्गमा अघि बढ्न सबैलाई आह्वान गर्दै बडादसैँले देशमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १०:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !