हरवाचरवा समुदायलाई अधिकार चिनाउन जनकपुरमा सडक नाटक

हरवाचरवा समुदायलाई अधिकार चिनाउन जनकपुरमा सडक नाटक
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार २०:३२
हरवाचरवा समुदायलाई अधिकार चिनाउन जनकपुरमा सडक नाटक

जनकपुरधाम : हरवाचरवा समुदायको श्रम अधिकार तथा सामाजिक सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले जनकपुरधामका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ।

द फ्रिडम फन्डको आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपालको आयोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर र वडा नम्बर १७ महुवामा सडक नाटक प्रदर्शन गरिएको हो।

ADVERTISEMENT

सदियौँदेखि श्रम शोषण र विभेद भोग्दै आएको हरवाचरवा समुदायलाई आफ्नो अधिकारबारे जानकारी गराउने उद्देश्यले नाटक प्रस्तुत गरिएको आयोजकले जनाएको छ। नाटकमार्फत श्रम अधिकार, सामाजिक सुरक्षा, शोषणविरुद्ध आवाज उठाउने तथा अधिकार प्राप्तिका लागि सम्बन्धित निकायमा पहुँच स्थापित गर्ने विषयलाई सरल ढंगले प्रस्तुत गरिएको थियो।

शिवपुरमा आयोजित कार्यक्रममा वडा नम्बर १९ का वडाध्यक्ष विनोदकुमार साहले श्रम शोषण अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। कसैमाथि श्रम शोषण वा अन्याय भइरहेको भए स्थानीय सरकारलाई जानकारी गराउन उनले आग्रह गरे।

महुवामा आयोजित कार्यक्रममा वडा नम्बर १७ का वडाध्यक्ष लक्ष्मेश्वर मण्डल, निवर्तमान वडाध्यक्ष रामशंकर पासवान र वडा सदस्य नागेश्वर मण्डलले हरवाचरवा समुदायको सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

गरिबी निवारण तथा वातावरण संरक्षण नेपालका अध्यक्ष सीताराम यादवले सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने सुविधामा हरवाचरवा समुदायको पहुँच सुनिश्चित गर्न संस्था निरन्तर सक्रिय रहेको बताए।

सडक नाटकमार्फत हरवाचरवा समुदायलाई न्यूनतम पारिश्रमिक, सुरक्षित श्रम वातावरण, सामाजिक सुरक्षा तथा विभेदविरुद्धको अधिकारबारे जानकारी गराइएको थियो। आफूले पाउनुपर्ने पारिश्रमिक र राज्यबाट उपलब्ध सेवासुविधाका लागि सम्बन्धित निकायमा कसरी पहुँच पुग्ने भन्ने विषय पनि नाटकमा समेटिएको थियो। आयोजकले यस्ता कार्यक्रमले समुदायमा अधिकारबारे जागरुकता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम संयोजक धिरेनकुमार मण्डल थिए। कार्यक्रममा जनप्रतिनिधि, हरवाचरवा समुदायका सदस्य तथा स्थानीयवासीसहित सयौँको सहभागिता थियो।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहीबार २०:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !