अडियो प्रकरणबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण : चिनजान छैन, प्रमाण भए फेस गर्न तयार

अडियो प्रकरणबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण : चिनजान छैन, प्रमाण भए फेस गर्न तयार
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार ११:२०
अडियो प्रकरणबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण : चिनजान छैन, प्रमाण भए फेस गर्न तयार

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

मन्त्री चौधरीले उक्त अडियोमा कुराकानी गर्ने व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको दाबी गरेकी छन्। उनले आफूमाथि लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए त्यसको सामना गर्न तयार रहेको बताइन्।

ADVERTISEMENT

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा दुई व्यक्तिबीच कृषि मन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारुलगायतको नाम लिँदै लेनदेनसम्बन्धी कुराकानी भएको सुनिन्छ। अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर परिचय गराएको सुनिन्छ।

बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरूले सोही अडियो प्रकरणबारे मन्त्री चौधरीसँग जवाफ मागेका थिए।

जवाफ दिँदै मन्त्री चौधरीले अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान नरहेको बताइन्। उनले भनिन्, ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन।’

मन्त्री चौधरीले उक्त विषय कानुनी प्रक्रियामा गइसकेको र अनुसन्धान भइरहेकाले यसबारे थप टिप्पणी गर्न नमिल्ने बताइन्।

आफू लामो समयदेखि सुशासनका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै उनले आरोप वा टीकाटिप्पणीभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन्।

‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन्।

उनले सञ्चारकर्मीहरूलाई समेत कुनै विषय सार्वजनिक गर्नुअघि त्यसको सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिन्।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहीबार ११:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !